काठमाडौं ।
मुम्बई इण्डियन्सका मुख्य प्रशिक्षक महेला जयवर्धनेले कप्तान रोहित शर्माको खराब लयलाई लिएर प्रतिक्रिया दिएका छन् । उनले रोहितको खराब लयबाट आफू चिन्तित नभएको प्रतिक्रिया दिएका हुन् । जयवर्धने भन्छन्, ‘रोहित शर्मा कुनै पनि समय लामो इनिङ्स खेल्न सक्ने खेलाडी हुन्, म उनको खराब लयबाट चिन्तित छैन ।’
आईपीएल २०२२ मा रोहितको प्रदर्शन त्यति राम्रो हुन सकेको छैन । जारी सिजनमा उनले २१.६० को औसतमा १०८ रन मात्र बनाउन सकेका छन् । माथिल्लो क्रममा रोहित चल्न नसक्दा मुम्बईले लगातार पाँच खेल हारेको छ ।
रोहितले रन बबनाए पनि मुम्बईका मुख्य प्रशिक्षक जयवर्धने उनीप्रति निराश छैनन् उनी भन्छन्, ‘यदि तपाईंले हेर्नुभयो भने उनको सुरुवात गर्ने र बललाई प्रहार गर्ने तरिका धेरै राम्रो छ । उनले बललाई राम्रोसँग टाइमिङ गरिरहेका छन्, उनको सुरुवात धेरै राम्रो छ । हो, उनी पक्कै निराश छन् । आफ्नो राम्रो सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् ।’
जयवर्धनेले थप भने, ‘उनी जुनसुकै बेला लयमा आउन सक्ने खेलाडी हुन् । रोहित एक महान ब्याटर हुन् । म उनको फर्मको बारेमा चिन्तित छैन ।’