काठमाडौं ।
भारतीय टोलीका तीव्र गतिका बलर दीपक चाहर अब आईपीएलपछि टी–२० विश्वकपबाट पनि बाहिरिने सम्भावना बढेको छ । रिपोर्टका अनुसार उनको चोट गहिरो छ, जसकारण चाहर चार महिनादेखि मैदानबाट टाढा हुने छन् ।
टाइम्स अफ इण्डियाका अनुसार चोट गहिरो भएकाले उनले टी–२० विश्वकप गुमाउने सम्भावना बढी छ । केही दिनअघि मात्र चाहर पुरानो घाउ बल्झिएकै कारण आईपीएलबाट बाहिरिएका थिए । उनी यही सातासम्म चेन्नई सुपर किंग्सको टोलीमा आउने अपेक्षा थियो । तर, घाउ पूर्णरूपमा निको नभएका कारण चाहर आईपीएलबाट बाहिरिए ।
मेगा अक्सनबाट उनलाई चेन्नईले १४ करोड भारुमा अनुबन्ध गरेको थियो । उनी वेस्ट इन्डिजविरुद्धको श्रृंखलाका क्रममा घाइते भएका थिए । चोटकै कारण चाहर श्रीलंका सिरिजबाट समेत बाहिर भएका थिए । त्यसपछि उनी आईपीएलबाट पनि बाहिर हुन पुगे ।
चेन्नईमा चाहरको अनुपस्थितिको प्रभाव प्रष्ट देखिन्छ । टोली बलिङमा कमजोर साबित भएको छ । यदि उनी टी–२० विश्वकपबाट पनि बाहिरिए भने भारतलाई झड्का लाग्ने देखिन्छ । चाहर पछिल्लो समय भारतीय सीमित ओभर टिमको महत्वपूर्ण बलर बन्दै आएका थिए ।
हालसम्म उनले २० टी–२० मा ८.२७ को इकोनमीमा २६ विकेट लिएका छन् । यो प्रारूपमा चाहरको उत्कृष्ट बलिङ ७ रन दिएर ६ विकेट लिनु हो । त्यस्तै, उनले सात एकदिवसीय म्याचमा ६.०१ को इकोनमीमा १० विकेट लिएका छन् ।