काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को २४ औँ खेलमा गुजरात टायटन्स विजयी भएको छ । गएराति सम्पन्न खेलमा ऊ राजस्थान रोयल्सविरुद्ध ३७ रनले विजयी भएको हो ।
जारी सिजनमा गुजरातको यो चौथो जित हो । योसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । गुजरातले पाँच म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ । राजस्थानको यो दोस्रो हार हो । उसले पाँचमध्ये तीन खेलमा भने जित हात पारेको छ । गुजरातसँगको हारपछि राजस्थान तेस्रो स्थानमा खस्किएको छ ।
आफ्नो पाँचौँ खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । उसका लागि जोस बटलरले आक्रामक पारी खेले ।
दोस्रो अर्धशतक बनाउने क्रममा बटलरले २४ बलमा आठ चौका र तीन छक्कासहित ५४ रन बनाए । त्यस्तै, शिमरोन हेटमायर २९, रियान पराग १८, जिमी नीशम १७ र कप्तान सञ्जु सामसन ११ रनमा आउट भए ।
गुजरातका लागि यस दयाल, लकी फर्गुसनले तीन–तीन, हार्दिक पाण्ड्या र मोहम्मद शामीले एक–एक विकेट लिए । गुजरातलाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।
त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनायो ।
उसका लागि हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले । उनले ५२ बलमा आठ चौका र चार छक्कासहित अविजित ८७ रनको योगदान दिए । जारी सिजनमा पाण्ड्याको लगातार दोस्रो अर्धशतकीय पारी हो ।
आईपीएल इतिहासमा उनले पहिलोपटक लगातार दोस्रो अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै, डेविड मिलरले शानदार फिनिसिङ गरे । उनले १४ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३१ रनको आक्रामक पारी खेले । अभिनव मनोहरले २८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४३ रन जोडे ।
शुभमन गिल १३, म्याथ्यू वेड १२ र विजय शंकर दुई रनमा आउट भए । राजस्थानका लागि युजवेन्द्र चहल, कुलदीप सेन र रियान परागले एक÷एक विकेट लिए । राजस्थानले एक विकेट रन आउटको रूपमा प्राप्त ग¥यो ।
२४ औंँ खेल सकिँदा अंक तालिकाको शीर्षमा गुजरात, दोस्रोमा कोलकाता, तेस्रोमा राजस्थान, चौथोमा पञ्जाब, पाँचौँमा लखनउ, छैटौँमा बैंग्लोर, सातौँमा दिल्ली, आठौँमा हैदराबाद, नवौँमा चेन्नई र दशौँ स्थानमा मुम्बई रहेका छन् ।






















