राजस्थानमाथि शानदार जित निकालेपछि यस्तो भन्छन् हार्दिक

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्ध गुजरात टायटन्सलाई जित दिलाउन कप्तान हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गरे । चौथो जित निकाल्ने क्रममा गुजरातले राजस्थानलाई ३७ रनले हराएको हो ।

यो जितमा पनि हार्दिकको भूमिका अहम् रह्यो । ब्याटिङमा अविजित ८७ रन बनाएका उनले बलिङमा एक विकेट हात पारे । अलराउन्ड प्रदर्शन गरेका पाण्ड्या प्लेयर अफ द म्याच पनि घोषित भए ।

म्याच सकिएपछि प्रतिक्रिया दिँदै उनले टिमको जितमा आफूले योगदान दिन पाउँदा खुसी लागेको बताए । ‘लामो समयसम्म ब्याटिङ गर्ने बानी थिएन । मैले हिसाब गर्ने समय पाएँ । आज मैले आफ्नो लय पाएको छु । र, मेरो इनिङ्स योजना बनाएको छु,’ पाण्ड्याले भने, ‘यसले अन्य खेलाडीलाई स्वतन्त्र रूपमा खेल्ने मौका दिन्छ । मैले अन्य भूमिकामा पनि खेलेको छु जहाँ मैले १२ बलमा ३० रन बनाएको छु । कप्तानी सधैं रमाइलो हुन्छ । टिम राम्रो खेल्दैछ ।’

गुजरातको जितमा तीव्र गतिका बलर लकी फर्गुसनको भूमिका पनि महत्वपूर्ण रह्यो । उनले आक्रामक ब्याटिङ गरिरहेका जोस बटलरलाई बोल्ड गरे । फर्गुसनले आउट गर्नुअघि बटलरले २४ बलमा आठ चौका र तीन छक्कासहित ५४ रन बनाएर खेलिरहेका थिए ।

यदि एक–दुई ओभर उनले खेलेको भए राजस्थानले खेल आफ्नो पक्षमा पनि पार्ने थियो । तर, फर्गुसनले शानदार बलिङ गर्दा खेलमा गुजरात फर्कियो । उनले ४ ओभरमा २३ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।

आफ्नो पाँचौँ खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । उसका लागि जोस बटलरले ५४ रन बनाए । त्यस्तै, शिमरोन हेटमायर २९, रियान पराग १८, जिमी नीशम १७ र कप्तान सञ्जु सामसन ११ रनमा आउट भए ।

गुजरातका लागि यस दयाल, लकी फर्गुसनले तीन–तीन, हार्दिक पाण्ड्या र मोहम्मद शामीले एक–एक विकेट लिए । गुजरातलाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।

त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनायो ।

उसका लागि हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले । उनले ५२ बलमा आठ चौका र चार छक्कासहित अविजित ८७ रनको योगदान दिए । जारी सिजनमा पाण्ड्याको लगातार दोस्रो अर्धशतकीय पारी हो ।

आईपीएल इतिहासमा उनले पहिलोपटक लगातार दोस्रो अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै, डेविड मिलरले शानदार फिनिसिङ गरे । उनले १४ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३१ रनको आक्रामक पारी खेले । अभिनव मनोहरले २८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४३ रन जोडे ।

शुभमन गिल १३, म्याथ्यू वेड १२ र विजय शंकर दुई रनमा आउट भए । राजस्थानका लागि युजवेन्द्र चहल, कुलदीप सेन र रियान परागले एक÷एक विकेट लिए । राजस्थानले एक विकेट रन आउटको रूपमा प्राप्त ग¥यो ।

२४ औंँ खेल सकिँदा अंक तालिकाको शीर्षमा गुजरात, दोस्रोमा कोलकाता, तेस्रोमा राजस्थान, चौथोमा पञ्जाब, पाँचौँमा लखनउ, छैटौँमा बैंग्लोर, सातौँमा दिल्ली, आठौँमा हैदराबाद, नवौँमा चेन्नई र दशौँ स्थानमा मुम्बई रहेका छन् ।