काठमाडौं ।
भारतीय टिमका पूर्वसदस्य तथा पश्चिम बंगालका खेलकुदमन्त्री मनोज तिवारीले अलराउन्डर हार्दिक पाण्ड्या राष्ट्रिय टोलीको कप्तान बन्नसक्ने राम्रो विकल्प भएको बताएका छन् । उनले हार्दिक छोटो ढाँचामा भारतीय टोलीको कप्तानका लागि उपयुक्त खेलाडी रहेको बताएका हुन् ।
तिवारीले हार्दिकलाई नै एकदिवसीय र टी–२० टिमको कप्तान बनाउनुपर्ने पनि माग गरेका छन् । जारी सिजनको आईपीएलमा पाण्ड्याले गुजरात टाइटन्सको कप्तानी गरिरहेका छन् । र, उनको कप्तानीमा टिमले लगातार उत्कृष्ट प्रदर्शन पनि गरिरहेको छ ।
मनोज पाण्ड्याको कप्तानीबाट प्रभावित छन् । उनको कप्तानी देखेपछि तिवारीले ट्विटरमा लेखेका छन्, ‘छोटो ढाँचामा टिम इण्डियाको कप्तान को हुने वा त्यो दौडमा खेलाडीहरू को हुन् भन्ने कुरामा कुनै बहस हुन्छ भने त्यो हार्दिक पाण्ड्या नै हुनुपर्छ । यस आईपीएलमा मैले जे देखेको छु, म उनको कप्तानीबाट धेरै प्रभावित भएको छु ।’
बिहीबार राजस्थान रोयल्सविरुद्धको खेलमा हार्दिकले उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्याटिङका क्रममा उनले ५२ बलमा अविजित ८७ रनको पारी खेले । बलिङमा पनि हार्दिकले २.३ ओभरमा १८ रन दिएर १ विकेट लिए । फिल्डिङमा उनले सञ्जु सामसनलाई रनआउट गरेका थिए ।