काठमाडौं ।
नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप–२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको बताए ।
‘हामीले अभ्यास खेल्नका लागि तीन टिमसँग तयारी गरेका छौं,’ अब्दुल्लाहले भने । नेपालले अफगानिस्तान, ओमान र यमनसँग खेल्ने तयारी गरिरहेको उनले बताए । अब्दुल्लाहले अफगानिस्तानसँग खेल्ने कुरा ९० प्रतिशत पूरा भएको र दुई टिमसँग कुरा चलिरहेको बताए ।
यस्तै, टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रस्ताव गरेको र तयारी भइरहेको बताए । यसअघि प्रशिक्षक अब्दुल्लाहले नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै नेपाली टिम छनोट हुन नसक्ने बताएका हुन् ।
‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं,’ अब्दुल्लाहले शुक्रबार दशरथ रंगशालामा भने । यस्तै उनले टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताए । उनले नेपालमा केही समय अभास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछि कुवेत जाने बताए । अभ्यास क्रममा स्थानीय क्लबसँग समेत अभ्यास हुने भने बताएका छन् ।
एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज ९शुक्रबार०बाट नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरण कुमार लिम्बू र देवेन्द्र तामाङबाहेक २३ खेलाडीको उपस्थिति थियो । दुबै खेलाडी पारिवारिक समस्याका कारण टोलीमा उपस्थित भएका छैनन् ।
नेपाली टिमले बिहानी सत्रको अभ्यास दशरथ रंगशालामा गर्नेछ भने साँझ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गर्नेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।
छनोटको पहिलो खेल नेपालले ८ जुनमा जोर्डनविरुद्ध खेल्ने तालिका छ । दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेत र तेस्रो खेलमा १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।