काठमाडौं ।
भारतमा जारी १५ औं सिजनमो इण्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्यालेन्जर्स बैंग्लोरले चौथो जित हात पारेको छ । शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराउँदै बैंग्लोरले चौथो जित हात पारेको हो । उसले ६ म्याच खेल्दा दुई खेलमा भने हार बेहोरेको छ ।
दिल्लीले भने लगातार दोस्रो खेलमा हारको सामना गरेको छ । आफ्नो पाँचौँ खेलमा बैंग्लोरले दिएको १९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर डेविड वार्नरले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने चुके ।
उनले ३८ बलमा पाँच छक्का र चार चौकासहित ६६ रन बनाए । त्यस्तै, कप्तान ऋषभ पन्त ३४, शार्दुल ठाकुर १७ र पृथ्वी शा १६, मिचेल मार्श १४ रनमा आउट भए । अक्षर पटेल र कुलदीप यादव १०÷१० रनमा अविजित रहे ।
बैंग्लोरका जोश हेजलउडले तीन, मोहम्मद सिराजले दुई र वानिन्दु हसरंगाले एक विकेट लिए । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनायो ।
उसका लागि दिनेश कार्तिक र ग्लेन म्याक्सवेलले आक्रामक पारी खेले । कार्तिकले ३४ बलमा पाँच छक्का र पाँच चौकासहित अविजित ६६ रन बनाए । त्यस्तै, म्याक्सवेलले ३४ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५५ रनको योगदान दिए । सहबाज अहमद ३२ रनमा अविजित रहे ।
कप्तान फाफ डुप्लेसिस आठ, विराट १२, सुयश प्रभुदेसाई ६ रनमा आउट भए । अनुज रावतले भने खाता खोल्न सकेनन् । दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, खलिल अहमद र शार्दुल ठाकुरले एक÷एक विकेट लिए ।
यो जितसँगै बैंग्लोर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षमा भने गुजरात छ । त्यस्तै, दोस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः लखनउ, राजस्थान, पञ्जाब, कोलकाता, हैदराबाद, दिल्ली, चेन्नई र मुम्बई रहेका छन् । दिल्लीले पाँच म्याचमध्ये दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ ।
कार्तिकले एकै ओभरमा बनाए २८ रन
जारी सिजनमा कार्तिकले आरसिबीका लागि उत्कृष्ट फिनिसिङ गरिरहेका छन् । उनले दिल्लीविरुद्ध पनि सोही लयलाई निरन्तरता दिए । दिल्लीविरुद्ध त कार्तिकले एकै ओभरमा २८ रन जोडे ।
उनले खेलको १८ औं ओभरमा चार चौका र दुई छक्कासहित २८ रन जोडेका हुन् । कार्तिकले मुस्तफिजुर रहमानको ओभरमा आक्रामक पारी खेले । उनले ओभरको पहिलो, दोस्रो, तेस्रो र छैटौं बलमा चौका तथा चौथो र पाँचौँ बलमा छक्का प्रहार गरे ।