शतक बनाएको खेलमा राहुललाई १९ लाख जरिवाना

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनमो इण्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार सम्पन्न पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इण्डियन्सलाई १८ रनले हरायो । मुम्बईलाई हराउन कप्तान केएल राहुलले ६० बलमा अविजित १०३ रनको पारी खेले ।

शानदार प्रदर्शनका साथ म्याच जिताए पनि एक गल्तीका कारण राहुलले ठूलो जरिवाना तिर्नुपर्ने भएको छ । स्लो ओभर रेटका कारण उनी १२ लाख भारु अर्थात् १९ लाख ३१ हजार रुपैयाँ जरिवानामा परेका छन् । निर्धारित समयमा बलिङ नसेकेको भन्दै बीसीसीआईले राहुलमाथि जरिवाना लगाएको हो ।

आईपीएलको नियमअनुसार एक टिमले ९० मिनेटभित्र इनिङ्स समाप्त गर्नुपर्ने हुन्छ । यदि सो अवधिभित्र इनिङ्स समाप्त नगरेमा टिम कप्तानलाई १२ लाख भारु जरिवाना हुन्छ ।

आईपीएलमा यदि यो कार्य दोहोरिएमा कप्तानले २४ लाख भारु जरिवना तिर्नुपर्ने नियम छ । जारी सिजनमै मुम्बईका कप्तान रोहित शर्मा २४ लाख भारु जरिवनामा परिसकेका छन् ।

आईपीएल २०२२ मा मुम्बई इण्डियन्सले लगातार छैटौं खेलमा हार बेहोरेको छ । उसले आफ्नो छैटौं खेलमा शनिबार लखनउ सुपर जायट्सविरुद्धविरुद्ध १८ रनको हार बेहोरेकाे हो । योसँगै प्लेअफ पुग्ने मुम्बईको सम्भावना निकै कमजोर बनेको छ ।

छैटौं खेलमा लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । उसका लागि सूर्यकुमार यादवले ३७, डेवाल्ड ब्रेभिसले ३१, तिलक वर्माले २६, किरण पोलार्डले २५, जयदेव उनादकटले १४ र इशान किशनले १३ रन बनाए ।

लखनउका लागि बलिङमा आवेश खानले तीन, रवि विश्नोई, मार्कस स्टोइनिस, दुश्मन्था चामेरा र जेसन होल्डरले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो । उसका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले ।

उनले ६० बलमा नौ चौका र पाँच छक्कासहित अविजित १०३ रन बनाए । आईपीएलमा राहुलको यो तेस्रो शतक हो । जारी सिजनमा शतक बनाउने भने उनी दोस्रो ब्याटर हुन् । यो संस्करणमा राजस्थान रोयल्सका जोस बटलरले पनि शतक बनाइसकेका छन् ।

आईपीएलमा मुम्बईविरुद्ध राहुलको यो दोस्रो शतक हो । त्यस्तै, मनिष पाण्डेले ३१, क्विटन डिककले २४, दीपक हूडाले १५ र मार्कस स्टोइनिसले १० रनको योगदान दिए । मुम्बईका लागि जयदेव उनादकटले दुई, फाबियन आलेन र, मुर्गन आश्विलले एक/एक विकेट लिए ।