उत्कृष्ट सुरुवातका बाबजुद बैंग्लोरसँग हारेपछि यस्तो भन्छन् कप्तान पन्त

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनमो इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विरुद्ध दिल्ली क्यापिटल्सले उत्कृष्ट सुरुवात गरेको थियो । बलिङ/ब्याटिङमै शानदार सुरुवातका बाबजुद दिल्ली १६ रनले पराजित हुन पुग्यो । उसको यो लगातार दोस्रो र समग्रमा तेस्रो हार हो ।

बैंग्लोरविरुद्ध पराजित भएपछि दिल्लीका कप्तान ऋषभ पन्तले केही कमजोरी औंल्याएका छन् । गल्ती औंल्याउनुअघि उनले डेविड वार्नरको पारीको भने प्रशंसा गरे । वार्नरले ३८ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा सर्वाधिक ६६ रन बनाएका थिए ।

‘वार्नरले उत्कृष्ट ब्याटिङ गरे । र, उनले खेल जित्ने प्रशस्त मौका सिर्जना गरे । म मार्सलाई पनि हारको दोष दिन सक्दैन । किनकी उनको यो पहिलो खेल थियो,’ पन्तले म्याच सकिएपछि भने । योजनाअनुसार बलिङ गर्न चुक्दा पनि बैंग्लोरसँग पराजित हुन पुगेको उनको भनाइ छ ।

पन्तले मुस्तफिजुर रहमानको एक ओभरका कारण पनि टिम पराजित हनु पुगेको आशय पनि व्यक्त गरे । हुन पनि १८ औं ओभरमा मुस्तफिजुरले बिनाविकेट २८ रन दिएका थिए । त्यही ओभरका कारण बैंग्लोरले १९० रनको लक्ष्य दिन सफल भयो ।

‘मलाई लाग्छ हामीले हाम्रो योजनाअनुसार बलिङ गर्न सक्थ्यौं । तर, हामी दबाबमा थियौं । त्यसपछिका ओभरमा कार्तिकले जसरी ब्याटिङ गरे त्यो प्रशंसनीय थियो । बाउन्ड्री लम्बाइ छोटो थियो, त्यसैले मैले कुलदीपको किनारा परिवर्तन गरे । र, उनले राम्रो बलिङ गरे । टोलीको रूपमा राम्रो गर्ने कुरा गर्नुपर्छ, हामीले आगामी खेलहरूमा हाम्रा गल्तीहरूबाट पाठ सिक्नुपर्छ,’ पन्तले भने ।

हुन त पन्तलाई कार्तिकको क्याच लिने मौका पनि थियो । उक्त मुस्किल क्याच लिन सकेको भए दिल्लीले १९० रनको लक्ष्य पाउने सम्भावना कम थियो । बैंग्लोरले दिएको १९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

उसका लागि ओपनर डेविड वार्नरले ३८ बलमा पाँच छक्का र चार चौकासहित ६६ रन बनाए । त्यस्तै, कप्तान ऋषभ पन्त ३४, शार्दुल ठाकुर १७ र पृथ्वी शा १६, मिचेल मार्श १४ रनमा आउट भए । अक्षर पटेल र कुलदीप यादव १०÷१० रनमा अविजित रहे ।

बैंग्लोरका जोश हेजलउडले तीन, मोहम्मद सिराजले दुई र वानिन्दु हसरंगाले एक विकेट लिए । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनायो ।

उसका लागि दिनेश कार्तिक र ग्लेन म्याक्सवेलले आक्रामक पारी खेले । कार्तिकले ३४ बलमा पाँच छक्का र पाँच चौकासहित अविजित ६६ रन बनाए । त्यस्तै, म्याक्सवेलले ३४ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५५ रनको योगदान दिए । सहबाज अहमद ३२ रनमा अविजित रहे ।

कप्तान फाफ डुप्लेसिस आठ, विराट १२, सुयश प्रभुदेसाई ६ रनमा आउट भए । अनुज रावतले भने खाता खोल्न सकेनन् । दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, खलिल अहमद र शार्दुल ठाकुरले एक÷एक विकेट लिए ।

यो जितसँगै बैंग्लोर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षमा भने गुजरात छ । त्यस्तै, दोस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः लखनउ, राजस्थान, पञ्जाब, कोलकाता, हैदराबाद, दिल्ली, चेन्नई र मुम्बई रहेका छन् । दिल्लीले पाँच म्याचमध्ये दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ ।