काठमाडौं ।
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विकेटकिपर–ब्याटर दिनेश कार्तिकले जारी आईपीएलमा शानदार प्रदर्शन गरिरहेका छन् । तल्लो क्रममा ब्याटिङ गरिरहेका उनले प्रत्येक खेलमा उत्कृष्ट फिनिसिङ गरिरहेका छन् । कार्तिकले गएराति ३४ बलमा पाँच छक्का र पाँच चौका हिर्काउँदै ६६ रनको आक्रामक पारी खेले ।
उनकै विस्फोटक पारीमा आरसिबीले दिल्लीलाई १९० रनको बलियो लक्ष्य दिन सफल भयो । कार्तिकको महत्वपूर्ण पारीका कारण आरसिबीले दिल्लीलाई १६ रनले हरायो । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि कार्तिकलाई आसन्न टी–२० विश्वकपका लागि भारतीय टिममा समावेश गर्नुपर्ने आवाज पनि उठ्न थालेका छन् ।
यो कुरामा न्यूजिल्याण्डका पूर्वक्रिकेटर तथा कमेन्टेटर साइमन डुलेले पनि समर्थन जनाए । उनले कार्तिकले ब्याकअप विकेटकिपरको रूपमा टिममा स्थान नपाए पनि ब्याकअप ब्याटरको रूपमा समावेश गर्नुपर्ने बताए ।
‘दिनेश कार्तिकलाई टी–२० विश्वकपका लागि भारतीय टिममा समावेश गर्नुपर्छ । भारतमा ब्याकअप विकेटकिपरको रूपमा ऋषभ पन्त र केएल राहुल रहेका छन् । किपरको रूपमा तपाईंले कार्तिकलाई लिन सक्नुहुन्न । बरु कार्तिकलाई ब्याकअप ब्याटरको रूपमा टिममा लिन सकिन्छ,’ स्टार स्पोर्ट्ससँगको कुराकानीमा डुलेले भनेका छन्, ‘कार्तिकले ६ र ७ नम्बरमा ब्याटिङ गर्न सक्छन् । उनी पाँच नम्बरमा पनि खेल्न सक्छन् । कार्तिक अहिले शानदार लयमा छन्, उनमा आत्मविश्वास पनि निकै बढेको छ ।’
आसन्न टी–२० विश्वकप १६ अक्टोबरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । यसपाली विश्वकपमा १६ टिमले सहभागिता जनाउने छन् । नेपाल यसपटक पनि विश्वकपमा स्थान बनाउन चुक्यो । ओमानमा भएको विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित हुँदा नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।