काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा गत सिजनको च्याम्पियन चेन्नई सुपर किंग्स (सिएसके) ले फेरि लय गुमाएको छ । पाचौं म्याचमा बैंग्लोरलाई २३ रनले हराएको ऊ छैटौँ खेलमा भने गुजरातविरुद्ध ३ विकेटले पराजित हुन पुग्यो । चेन्नईले बलिङमा शानदार सरुवात गरेको थियो ।
खेलमा बढी समय चेन्नईले नै गुजरातलाई दबाबमा राख्यो । तर, ऊ अन्तिम समयतिर भने चुक्यो । चेन्नईले १८ र अन्तिम ओभरमा कसिलो बलिङ गर्न सकेको भए खेल सजिलै जित्थ्यो । तर, यी दुई ओभरमा चेन्नईका बलर महँगा सावित भए । १८ औं ओभरमा क्रिस जोर्डनले २५ रन दिए ।
अन्तिम ओभरमा गुजरातलाई जितका लागि ६ बलमा १३ रनको आवश्यक थियो । तर, जोर्डनले यो ओभरमा एक बल अगावै १३ रन दिए । जित नजिक पुगेको खेल हारेपछि कप्तान रवीन्द्र जडेजाले केही कुरा बताएका छन् ।
‘हामीले राम्रो सुरुवात गरेका थियौं । बलिङ युनिटका रूपमा हामीले पहिलो ६ ओभरमा राम्रो खेल्यौं । ब्याटिङ गर्दा विकेटले बललाई अलिकति समातिरहेको थियो । बल पकडिरहेको थियो । तर, अन्तिम पाँच ओभरमा हाम्रो योजना कार्यान्वयन गर्न सकेनौं,’ जडेजाले भने ।
उनले क्रिस जोर्डनप्रति खुलेरै आक्रोश पोखेनन् । बरु जडेजाले उनको प्रदर्शनलाई टी–२० क्रिकेटको सुन्दरताको रूपमा व्याख्या गरे । ‘क्रिस जोर्डनले योर्करमा राम्रो गर्न सक्छन् भन्ने विश्वास थियो । तर, उनी त्यसमा सफल भएनन्, टी–२० क्रिकेटको सुन्दरता नै यही हो,’ जडेजाले म्याच सकिएपछि भने ।