इंग्ल्याण्डमा चम्किँदै पुजारा : डेब्यूमै बनाए दोहोरो शतक, हारबाट जोगाए टिमलाई

Image

काठमाडौं ।

भारतीय टोलीका सिनियर खेलाडी चेतेश्वर पुजारा शानदार लयमा फर्किएका छन् । उनले इंग्ल्याण्डको काउन्टी क्लब ससेक्सका लागि डेब्यु गर्दै अपराजित दोहोरो शतक बनाएका हुन् । डर्बीशायरविरुद्ध खेल्दै पुजाराले अविजित २०१ रन बनाए ।

पहिलो इनिङ्समा ६ रनमै आउट भएका उनले दोस्रो इनिङ्समा उत्कृष्ट पारी खेले । डर्बीशायरले पहिलो पारीमा ५०५ रन बनाउँदा पुजारा सम्मिलित ससेक्स भने ५६.३ ओभरमा १७४ रनमै समेटियो । दोस्रो इनिङ्समा भने पुजाराले ३८७ बलमा अविजित २०१ रन बनाए । उनले आफ्नो पारीमा २३ चौका हिर्काए ।

त्यस्तै, ससेक्सका कप्तान टम हेन्सले २४३ रन बनाए । उनीसँग पुजाराले तेस्रो विकेटका लागि ३५१ रनको विशाल साझेदारी गरे । उनीहरूकै शानदार ब्याटिङमा ससेक्सले खेल बराबरीमा टुंग्याउन सफल भयो । दोस्रो पारीमा ससेक्सले ३ विकेटको क्षतिमा ५१३ रन बनाएको हो ।

त्यस्तै, डर्बीशायरले पहिलो पारी ५०५–८ को अवस्थामा समाप्तिको घोषणा गर्यो । उसका लागि पाकिस्तानी ब्याटर शन मसूदले २३९, वेन मेडसेनले १११, एलेक्स थोम्स्नले अविजित ५२ र अनुज दलले ३८ रन बनाए ।

टिममा फर्कन सक्छन् पुजारा

पुजारा दक्षिण अफ्रिका भ्रमणमा खराब प्रदर्शनका कारण भारतीय टोलीबाट बाहिरिएका थिए । जसकारण उनलाई श्रीलंकाविरुद्धको घरेलु टेष्ट सिरिजका लागि टोलीमा पनि समावेश गरिएको थिएन । पुजारासँगै अजिंक्य रहाणे पनि टोलीमा अटाएनन् ।

त्यसपछि यी दुवै ब्याटरलाई घरेलु प्रतियोगिता रणजी ट्रफीमा पठाइएको थियो । रणजी ट्रफीमा पुजारा पूर्णरूपमा लयमा देखिएनन् । काउन्टी क्रिकेटमा भने उनले शानदार सुरुवात गरेका छन् । लय कायमै राखे उनी भारतीय टिममा कमब्याक गर्न सक्छन् ।