भ्यालेन्सियाको पोस्टमा माजियाको १३ गोल, किरणको उत्कृष्ट प्रदर्शन कायमै

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ सम्मिलित माजिया स्पोर्ट्स एण्ड रिक्रियसनले फराकिलो जित हात पारेको छ ।​ माजियाले माल्दिभ्सको शीर्ष डिभिजन दिवेही प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा क्लब भ्यालेन्सिया मालेमाथि १३–० को फराकिलो जित निकालेको हो ।

माजियाको जितमा मोहम्मद हम्जाले पाँच, नैज हसनले तीन, टाना डोमिंगेज र कर्लिनस स्विार्टले दुई/दुई तथा इब्राहिम असमले एक गोल गरे । खेलको १० औं मिनेटमा स्टिवार्टको गोलमार्फत माजियाले अग्रता लिएको थियो । १२, १६,२३ र ३१ औं मिनेटमा हम्जाले लगातार चार गोल गर्दै टोलीलाई ५–० ले अघि बढाए ।

३८ औं मिनेटमा असम ले टोलीका लागि छैटौं गोल गरे । ४३ औं मिनेटमा हम्जाले व्यक्तिगत पाँचौ तथा ४७ औं मिनेटमा स्विवार्टले व्यक्तिगत दोस्रो गोल गरेपछि माजिया ८–० ले अघि बढ्यो ।

५३ औं मिनेटमा डोमिंगेज तथा ५५ औं र ६६ औं मिनेटमा हसले गोल गर्दा माजियाले ११–० को फराकिलो अग्रता बनायो । ८१ औं मिनेटमा डोमिंगेजले व्यक्तिगत दोस्रो तथा ९० औं मिनेटमा हसनले ह्याट्रिक पूरा गरेपछि टोलीले १३–० को फराकिलो जित दर्ता गर्‍यो ।

जितसँगै नौ खेलमा २४ अंक जोडेको माजिया शीर्ष स्थानमा उक्लिँदा पराजित भ्यालेन्सिया समान खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ ।