काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा ओरेन्ज क्याप दौड अर्थात् सर्वाधिक रन बनाउने मामलामा फाफ डुप्लेसिस तेस्रो स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध ९६ रन बनाएसँगै उनी तेस्रोमा उक्लिएका हुन् ।
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) को कप्तानसमेत रहेका फाफले ७ खेलमा १३२.२७ को स्ट्राइक रेटमा दुई अर्धशतकसहित २५० रन बनाएका छन् । ओरेन्ज क्याप दौडको शीर्ष स्थानमा भने राजस्थान रोयल्सका जोस बटलर छन् ।
उनले ६ खेलमा १५६.९० को स्ट्राइक रेटमा सर्वाधिक ३७५ रन बनाएका छन् । जसमा बटलरको दुई शतक र दुई अर्धशतक सामेल छ । त्यस्तै, यो सूचीका दोस्रो स्थानमा लखनउका केएल राहुलको नाम आउँछ ।
उनले सात म्याच खेल्दा एक शतक र एक अर्धशतकको सहयोगमा २६५ रन बनाएका छन् । राहुलले यसपाली १४१.७१ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । त्यस्तै, यो सूचीको चौथोमा श्रेयस अय्यर (२३६), पाँचौँमा हार्दिक पाण्ड्या (२२८) र छैटौँमा शिवम् दुबे (२२६ रन) छन् ।
३१ म्याचको समाप्तिमा ओरेन्ज क्याप दौडमा लियाम लिभिङस्टोन (२२४) सातौँ, शिमरोन हेटमायर (२२३) आठौँ, क्विन्टन डिकक (२१५) र दिनेश कार्तिक (२१० रन) दशौँ स्थानमा छन् । शिखर धवन, विराट कोहली, केन विलियम्सन, रोहित शर्मा, इशान किशन, पृथ्वी शा, सञ्जु सामसन, ऋषभ पन्तलगायत स्टार ब्याटर भने शीर्ष १० मा अटाएका छैनन् ।