तनावपूर्ण खेलमा दिल्लीविरुद्ध राजस्थानको रोमाञ्चक जित, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले पाँचौं जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थानले पाँचौं जित निकालेको हो । दिल्लीले भने चौथो हारको सामना गरेको छ ।

आफ्नो सातौँ खेलमा राजस्थानले दिएको २२३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनायो । उसका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी शा, ललित यादवले ३७/३७, रोभम्यान पावेलले ३६, डेविड वार्नरले २८ र शार्दुल ठाकुरले १० रन बनाए ।

अन्तिम ओभरमा विवाद

अन्तिम ओभरमा दिल्लीलाई जितको लागि ३६ रनको आवश्यकता थियो । यो ओभरको सुरुआती तीन बलमा रोभम्यान पावेलले लगातार तीन छक्का हिर्काए । लगातारको छक्कासँगै खेल रोमाञ्चक बन्यो । तर, तेस्रो बलमा अम्पायरले नो बल नदिएको भन्दै खेल केही बेर रोकियो ।

डकआउटमा बसेका दिल्लीका कप्तान ऋषभ पन्तले त अम्पायरले नो बल नदिएको भन्दै पावेललाई मैदानबाट बाेलाए । यद्यपि, केही बेरको विवादपछि खेल फेरि सुरु भयो । अन्तिम तीन बलमा भने दिल्लीले एक विकेट गुमाएर २ रन मात्र बनायो ।

राजस्थानका लागि प्रसिद्ध कृष्णाले तीन, रविचन्द्रन आश्विनले दुई, ओबेद म्याक्यो र युजवेन्द्र चहलले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२२ रन बनायो ।

उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतकीय पारी खेले । उनले ६५ बलमा बलमा ९ छक्का र ९ चौकासहित ११६ रन बनाए । बटलरको यो लगातार दोस्रो र जारी सिजनमा तेस्रो शतक हो । उनले अघिल्लो खेलमा कोलकाताविरुद्ध ६१ बलमा १०३ रन बनाएका थिए ।

योसँगै बटलरले कीर्तिमान बनाएका छन् । उनले आईपीएलमा राजस्थानका लागि सर्वाधिक शतक बनाउने रेकर्ड बनाएका हुन् । आईपीएल इतिहासमा बटलरको यो चौथो शतक हो ।

त्यस्तै, दिल्लीस्विरुद्ध देवदत्त पाडिक्कलले ३५ बलमा सात चौका र दुई छक्कासहित ५४ रनको योगदान दिए । कप्तान सञ्जु सामसनले १९ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ४५ रन बनाए । दिल्लीका लागि खलिल अहमद र मुस्तफिजुर रहमानले एक/एक विकेट लिए ।

आजको जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले सात म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ । दिल्लीले सात म्याच खेल्दा चारमा हार र तीन खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा छ ।

दिल्ली र राजस्थानबीचको खेलपछि अंक तालिका :