काठमाडौं ।
बायर्न म्युनिखले लगातार दसौँपटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्नले लगातार दसौँपटक बुन्डेसलिगाको उपाधि जितेको हो ।
बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । योसँगै ऊ युरोपको शीर्ष पाँच लिगमा लगातार १० उपाधि जित्ने पहिलो टोली बनेको छ । घरेलु मैदान एलियन्ज एरिनमा खेलको १५ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई २–१ को स्थितिमा ल्याए ।
८३ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए । यो जितसँगै ३१ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको बायर्नले तीन खेल अगावै उपाधि हात पारेको हो ।
पराजित डर्टमण्ड समान खेलबाट ६३ अंकका साथ दोस्रो स्थानमा छ । लिगअन्तर्गतकै अन्य खेलमा युनियन बर्लिनले लाइप्जिगमाथि २–१, कोलोग्नेले अर्मेनिया बेलिफिल्डमाथि ३–१ तथा लिभरकुसेनले ग्रेउथर फ्रुथमाथि ४–१ को जित निकाले ।
त्यस्तै, फ्रान्कफुर्ट र होफिनहिमले २–२ तथा फ्रेइबर्ग र बोरूसिया मोन्चेनगाल्डबाखले ३–३ को बराबरी खेले ।