काठमाडौं ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको उपाधि हात पारेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीले गएराति लेन्ससँग १-१ को बराबरी खेल्दै चार खेल अगावै लिग उपाधि उचालेको हाे ।
खेलकाे ५७ औं मिनेटमा केभिन डान्साेले दाेहाेराे पहेँलाे कार्ड बेहाेर्दै मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा समेटियो । ६८ औं मिनेटमा लियाेनल मेस्सीले घरेलु टाेलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८८ औं मिनेटमा लेन्सका कोरेन्टिन जिनले खेलाई १-१ को बराबरीमा ल्याए ।
याे नतिजासँगै १० औं पटक लिग उपाधि उचालेको पिएसजीले ३४ खेलमा ७८ अंक जोड्दा लेन्स समान खेलबाट ५४ अंकका साथ साताैं स्थानमा छ । लिगअन्तर्गतकै अन्य खेलमा लियाेन माेन्टपेलियरमाथि ५-२ तथा माेनाकाेले सेन्ट इटिनेमाथि ४-१ को जित हात पारे ।
बायर्नले यसपालि पनि जित्यो बुन्डेस लिगाको उपाधि, रच्यो इतिहास
बायर्न म्युनिखले लगातार दसौँपटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्नले लगातार दसौँपटक बुन्डेसलिगाको उपाधि जितेको हो ।
बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । योसँगै ऊ युरोपको शीर्ष पाँच लिगमा लगातार १० उपाधि जित्ने पहिलो टोली बनेको छ । घरेलु मैदान एलियन्ज एरिनमा खेलको १५ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई २–१ को स्थितिमा ल्याए ।
८३ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए । यो जितसँगै ३१ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको बायर्नले तीन खेल अगावै उपाधि हात पारेको हो । पराजित डर्टमण्ड समान खेलबाट ६३ अंकका साथ दोस्रो स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा युनियन बर्लिनले लाइप्जिगमाथि २–१, कोलोग्नेले अर्मेनिया बेलिफिल्डमाथि ३–१ तथा लिभरकुसेनले ग्रेउथर फ्रुथमाथि ४–१ को जित निकाले । त्यस्तै, फ्रान्कफुर्ट र होफिनहिमले २–२ तथा फ्रेइबर्ग र बोरूसिया मोन्चेनगाल्डबाखले ३–३ को बराबरी खेले ।













