काठमाडौं ।
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । गएरातिको खेलमा स्पानियोललाई ४–० ले हराउँदै रियलले उपाधि उचालेको हो । उसले चार खेलअगावै ३५ औं ला लिगा उपाधि जित्यो ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एक/एक गोल गरे । ३३ औं मिनेटमा रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
५५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाए । ८१ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियलले ४–० को सहज जित निकाल्यो । योसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ । पराजित स्पानियोल ३४ खेलबाट ३९ अंकका साथ १४ औं स्थानमा छ ।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले इतिहास रचेका छन् । उनले युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बन्दै इतिहास रचेका हुन् । एन्सेलोटीले यसअघि आफ्नो प्रशिक्षणमा प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानको उपाधि जिताएका थिए ।