काठमाडौं ।
नेपालले जिम्बाब्वे ‘ए’ सँगको पहिलो टी–२० म्याच आज खेल्दैछ । नेपाल र जिम्बाब्वेबीचको खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । यी दुई टोलीले नयाँ तालिकाअनुसार सिरिज खेल्न लागेका हुन् ।
पूर्वनिर्धारित तालिकाअनुसार एकदिवसीयपछि टी–२० श्रृंखला खेलाउने योजना थियो । तर, प्रतिकूल मौसमका अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका परिर्वतन गरेको हो । परिवर्तित तालिकाअनुसार नेपाल–जिम्बाब्वे ‘ए’ ले एकदिवसीयअघि टी–२० सिरिज खेल्न लागेका हुन् ।
आजको खेलमा भने वर्षा बाधक बन्ने सम्भावान कम छ । यो समाचार तयार पार्दा (बिहान १०ः२०) सम्म काठमाडौंमा घाम लागिरहेको छ । मौसम परिवर्तन नभएमा आज भने निर्धारित समयमै खेल हुने सम्भावना छ । हिजोको खेल वर्षाका कारण टस नै हुन नपाएर स्थगित भएको थियो।
आज दुवै टिम तीन खेलको सिरिजमा जितका साथ सुरुवात गर्न चाहन्छन् । नेपाल र जिम्बाब्वेले टी–२० मा तीन वर्षअघि प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल दुवै खेलमा जिम्बाब्वसँग पराजित हुन पुग्यो । सो सिरिज सिंगापुरमा भएको थियो । यसपालि नेपाललाई घरेलु मैदानमा बदला लिने मौका छ ।
जिम्बाब्वे पनि नेपालविरुद्ध शानदार जित हात पार्न चाहन्छ । उसको टिममा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका खेलाडी छन् । तडिवानासे मरुमणि, टिना टेन्डा मुटोम्बोड्जी, मभुता ब्रेन्डन, न्याउची भिक्टर, ल्यूक जोंगवे, रोय किला र काइया इनोसेन्ट जिब्बाब्वे ‘ए’ टिमका मुख्य खेलाडी हुन् । उनीहरूले सिनियर टोलीबाट पनि खेलिसकेका छन् ।
यद्यपि पछिल्लो समय ठिकठाक प्रदर्शन गरिरहेको नेपालले पनि जिम्बाब्वेविरुद्ध आफ्नो लय कायमै राख्ने सम्भावना छ । नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल टेलिभिजनमा याक्सन स्पोर्ट्स एचडी वान र युट्युबमा ओएसआर डिजिटलबाट हेर्न सकिनेछ ।
नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, लोकेश बम, आदिल अन्सारी, करण केसी, सोमपाल कामी र अविनाश बोहरा ।