काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जायन्ट्सविरुद्ध दिल्ली क्यापिटल्स ६ रनले पराजित भएको छ । जारी सिजनमा दिल्लीको यो पाँचौं हार हो । उसले नौ म्याच खेल्दा पाँचमा हार र चार खेलमा जित हात पारेको छ ।
आफ्नो नवौं खेलमा लखनउले दिएको १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८९ रन बनायो । उसका लागि ऋषभ पन्तले ४४, मिचेल मार्शले ३७ र रोभम्यान पावेलले ३५ रन बनाए । अन्तिममा अक्षर पटेल र कुलदीप यादवले पनि उत्कृष्ट पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् ।
अक्षरले २४ बलमा तीन छक्का र एक चौकाको सहयोगमा अविजित ४२ र कुलदीपले आठ बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित १६ रन बनाए । उनीहरूले ३.२ ओभरमा ४१ रनको साझेदारी गरे । लखनउका लागि मोहसिन खानले चार, दुश्मन्था चामेरा, कृष्णप्पा गौतम र रवि विश्नोईले एक/एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा विकेट तीन विकेट गुमाएर १९५ रन बनायो । उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धतकीय पारी खेले । राहुलले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा ७७ तथा हूडाले ३४ बलमा ६ चौका एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए ।
त्यस्तै, क्विन्टन डिककले २३ र मार्कस स्टोइनिसले अविजित १७ रन बनाए । दिल्लीका लागि शार्दुल ठाकुरले ४ ओभरमा ४० रन दिएर तीन विकेट लए । बाँकी बलरले भने विकेट प्राप्त गर्न सकेनन् ।
आजको जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले १० म्याच खेल्दा सातमा जित र तीन खेलमा मात्र हार बेहोरेको छ । दिल्ली अंक तालिकाको छैटौं स्थानमा छ ।
दिल्ली र लखनउको खेलपछि यस्तो बन्यो अंक तालिका :