२२ वर्षीय मलिकले फाले जारी आईपीएलकै सर्वाधिक तीव्र गतिको बल

Image

काठमाडौं ।

सनराइजर्स हैदराबादका युवा तीव्र गतिका बलर उमरान मलिकले भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सर्वाधिक तीव्र गतिमा बलिङ गरेका छन् । उनले गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध जारी सिजनकै सबैभन्दा छिटो बल प्रहार गरेका हुन् ।

मलिकले १५४ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका छन् । पुणेमा भएको चेन्नईको ब्याटिङका क्रममा १० औं ओभरमा मलिकले १५४ रनको गतिमा बलिङ गरे । जुन सिजनको सबैभन्दा छिटो बल थियो । मलिकपछि लकी फर्गुसनको नाम आउँछ ।

उनले यही सिजनमा १५३ किलोमिटर प्रतिघण्टामा बलिङ गरेका थिए । यसैबीच, हैदराबादका बलिङ प्रशिक्षक डेल स्टेनले उमरानले अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेमा कुनै शंका नरहेको बताएका छन् ।

‘उमरान लगातार १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्छन् । र, अहिले संसारमा अरू कसैले गर्दैनन्, हुनसक्छ लकी फर्गुसन अर्को व्यक्ति हो जसले गर्छ । तर, उनी एकदमै फरक बलर हुन् । भारतीय दृष्टिकोणबाट उमरान एक मात्र बलर हुन्, जसले लगातार प्रत्येक बललाई १४५/१४५ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्छन्। त्यसैले उनी छिट्टै भारतबाट खेल्न सक्छन् । तर, भारतले उनलाई कसरी सम्हाल्छ भन्ने कुरा उनीहरूमा भर पर्छ ।’

जारी सिजनमा मलिकले ९ खेलमा १५ विकेट लिएका छन् । आइपिएल २०२२ मा चेन्नई सुपर किंग्स (सिएसके) ले तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १३ रनले हराएसँगै चेन्नईले लिगमा तेस्रो जित हात पारेको हो । उसले नौ म्याच खेल्दा ६ खेलमा भने हार बेहोरेको छ ।

यता हैदराबादको यो लगातार दोस्रो तथा समग्रमा चौथो हार हो । आफ्नो नवौं खेलमा चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । उसका लागि विकेटकिपर निकोलस पूरनले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन भने चुके ।

३३ बलमा ६ छक्का र तीन चौका हिर्काएका पूरनले अविजित ६४ रन बनाए । त्यस्तै, कप्तान केन विलिम्सन ४७, अभिषेक शर्मा ३९, एडन मार्कम १७ र सशांक सिंह १५ रनमा आउट भए । चेन्नईका लागि मुकेश चौधरी चार ओभरमा ४६ रन दिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, मिचेल सान्टनर र ड्वेन प्रिटोरियसले एक–एक विकेट हात पारे ।

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । उसका लागि ऋतुराज गायकवाडले ५७ बलमा ६ चौका र ६ छक्कासहित ९९ रन बनाए ।

त्यस्तै, डेभन कन्वेले ५५ बलमा आठ चौका र दुई छक्काको सहयोगमा अविजित ८५ रनको योगदान दिए । उनी गायकवाडबीच पहिलो विकेटका लागि १०७ बलमा १८२ रनको साझेदारी गरे । कप्तान महेन्द्रसिंह धोनी आठमा आउट हुँदा रवीन्द्र जडेजा एक रनमा अविजित रहे । हैदराबादका लागि टी नटराजनले मात्र दुई विकेट लिन सके ।

हारका बाबजुद पनि हैदराबाद अंक तालिकाको चौथो स्थानमा यथावत रहेको छ । चेन्नई ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । शीर्षमा भने गुजरात टाइटन्स छ । उसले ९ म्याचमा १६ अंक जोडिसकेको छ ।