बेलायतमा चम्किँदै नेपाली क्रिकेटर, अनुबन्ध भए प्रतिष्ठित क्रिकेट क्लबमा

Image

लण्डन ।

बेलायतको लण्डमा बस्ने एक नेपाली बालक बेलायतको एक प्रतिष्ठित क्रिकेट क्लबबाट खेल्नका लागि छनोट भएका छन् । ९ वर्षीय आर्यन ढुंगाना मिडलसेक्स काउन्टी अन्डर टेन (यू-१०) बरो प्लेयरमा अनुबन्धित भएका उनका बुबा सुरेन्द्र ढुंगानाले जानकारी दिए ।

आर्यन ‘लेफ्ट ह्यान्डेड’ ‘पेस बलर’ र आक्रामक ब्याटर हुन् । उनी सानैदेखि खेलप्रेमी र क्रिकेटप्रति रुचि राख्ने गरेको बुबा सुरेन्द्रले बताए । ‘यो आर्यनका लागि सानो खुट्किलो होला तर समस्त बेलायती नेपाली डायस्पोराको खेल क्षेत्रमा ठूलो फड्कोका रुपमा मैले लिएको छु,’ उनका बुबाले भने ।

एक्टन क्रिकेट क्लब लन्डनमा आइतबार पूर्वइंग्ल्यान्ड क्रिकेटर साजिद महम्मुद र इलिङ क्रिकेट बरो चिफ इजाज हुसेनले आर्यनलाई मिडलसेक्स काउन्टी क्याप हस्तान्तरण गरे । साजिदले आर्यनको क्याप र ब्याटमा हस्ताक्षरसमेत गरेका छन् ।

आर्यनले गतवर्ष यू–८ अन्तर्गत प्रतिष्ठित इलिङ क्रिकेट क्लबमा खेलेर ‘प्लेयर अफ दी इयर’ उपाधि पाएका थिए । आर्यनका बुबा सुरेन्द्र चार्टर्ड अकाउन्टेन्ट र आमा सुनिता ढुंगााना इलिङ हस्पिटलमा नर्सको रूपमा कार्यरत छिन् । उनीहरू नेपालमा कैलालीको टीकापुरमा स्थायी बासिन्दा हुन् । आर्यन इलिङस्थित होबबेन प्राइमरी स्कुलमा कक्षा ४ मा अध्ययनरत छन् । कान्तिपुर दैनिकबाट साभार