काठमाडौं ।
न्यूजिल्याण्डका स्टार तीव्र गतिका बलर ट्रेन्ट बोल्ट अहिले भारतमा जारी १५ औं सिजनको आईपीएलमा व्यस्त छन् । यो सिजनमा उनले राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका हुन् । बोल्टले यसपालि पनि उत्कृष्ट बलिङ गरिरहेका छन् ।
यसैबीच, उनले आफ्नो सपनाको आईपीएल ह्याट्रिकको बारेमा खुलासा गरेका छन् । कुन तीन ब्याटरलाई आउट गर्दै ह्याट्रिक पूरा गर्ने चाहना छ? यो प्रश्नमा बोल्टले भारतका विराट कोहली, न्यूजिल्याण्डका जिमी नीशम र टिम साउथीको नाम लिए ।
‘म ह्याट्रिकमा सबै स्टार ब्याटर राख्दिन । मेरो सूचीमा विराट कोहली, जिमी निशम र टिम साउथीको नाम समावेश हुनेछ,’ ईएसपीएन क्रिकइन्फोसँग कुरा गर्दै बोल्टले भनेका छन् ।
केन विलियम्सनको नाम नलिनेबारे सोध्दा उनले भने, ‘केन मेरो धेरै राम्रो साथी हो । र। मैले उसलाई पहिले नै आउट गरिसकेको छु । त्यसैले मलाई अर्को विकेट चाहिँदैन..हाँसो! ’
बोल्टले आईपीएलमा अहिलेसम्म ह्याट्रिक लिन सकेका छैनन् । तर, अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले यो उपलब्धि हासिल गरिसकेका छन् । बोल्टको नाममा एकदिवसीय विश्वकपमा ह्याट्रिक लिने कीर्तिमान पनि छ ।