काठमाडौं ।
भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा वेष्ट इण्डिजका आक्रामक ब्याटर शिमरोन हेटमारले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । राजस्थान रोयल्सबाट लिग खेलिरहेका उनले १० खेलमा १६३.५२ को स्ट्राइक रेटमा २६० रन बनाएका छन् । हेटमायरले आफ्नो लागि आईपीएल सिजन उत्कृष्ट रहनुको कारण बताएका छन् । उनी यस वर्ष आफ्नो सफलताको श्रेय आफ्नी पत्नी निर्वाणीलाई दिन्छन् ।
‘मैले आफैंलाई मौका दिएको छु । सुरुका दुई वर्ष मैले आक्रामक शटहरू खेल्ने सोचे । यसपालि मेरो श्रीमतीले शट खेल्नुअघि परिस्थिति बुझ्न समय निकाल्न भनेकी थिइन् । मेरी श्रीमती मेरो सबैभन्दा ठूलो प्रशिक्षक । र, मेरो सबैभन्दा कडा आलोचक पनि हुन् । उनले मलाई केही बल खेलेर पोजिसन पत्ता लगाउन र त्यसपछि मेरो शट खेल्न भनेर पटकपटक सुझाव दिन्छिन् । मैले पनि उनको सुझाव आत्मसाथ गरिरहेको छ । त्यसकारण पनि सफलता प्राप्त गरिरहेको छु ।’
हेटमायरले आफू राजस्थानका अन्य ब्याटरबाट धेरै कुरा सिकिरहेको पनि बताएका छन् । ‘म जोस बटलरबाट रिभर्स स्वीप शट कसरी खेल्ने भन्ने कुरा सिकिरहेको छु । नेटमा अभ्यास पनि गरेको छु । म पनि स्कूप शट सिक्न चाहन्छु । जब म ब्याटिङ गर्छु, बटलरले सहज तरिकाले सिकाउँछन्,’ उनले भने ।
लगातार पाँच हारपछि केकेआर विजयी
कोलकाता नाइट राइडर्स (केकेआर) ले लगातार पाँच हारपछि जित प्राप्त गरेको छ । उसले लगातार हारको यात्रापछि गएराति राजस्थान रोयल्सविरुद्धको खेलमा सात विकेटको जित हात पारेको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि नितिश राणले ३७ बलमा तीन चौका र दुई छक्कासहित अविजित ४८ रन बनाए । रिंकु सिंहले २३ बलमा ६ चौका र एक छक्काको सहयोगमा अविजित ४२ रनको आक्रामक पारी खेले । कप्तान श्रेयस अय्यर ३४, बाबा अपराजित १५ र आरोन फिन्च चार रनमा आउट भए ।
राजस्थानका लागि कुलदीप सेन, प्रसिद्ध कृष्णा र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।
उसका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौका र एक छक्कासहित ५४ रन बनाए । जोस बटलरले २५ बलमा तीन चौकासहित २२ रन जोडे । रियान परागले १२ बलमा एदुई छक्का र एक चौकासहित १९ रनको उत्कृष्ट पारी खेले ।
करुण नायर १३ बलमा १३ रन बनाएर पवेलिएन फर्किए । देवदत्त पाडिक्कलले पाँच बलमा दुई रन मात्र बनाउन सके । शिमरोन हेटयमारले उत्कृष्ट फिनिसिङ गरे । उनले १३ बलमा एक चौका र दुई छक्कासहित अविजित २७ रन बनाए । जारी सिजनमा हेटमायरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो लय केकेआरविरुद्ध पनि कायमै राखे ।
रविचन्द्रन आश्विन ६ रनमा अविजित रहे । केकेआरका लागि टिम साउथीले दुई, शिवम मावी, अनुकूल रोय र उमेश यादवले एक/एक विकेट लिए । जारी सिजनमा राजस्थानले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हार बेहोरेको छ । केकेआरले ९ म्याच खेल्दा ६ मा हार र तीन खेलमा मात्र जित प्राप्त गरेको छ ।
यो जितसँगै केकेआर अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । उसले १० म्याच खेल्दा ६ मा हार र चार खेलमा जित निकालेको छ । प्लेअफ पुग्न केकेआरलाई अब हरेक खेलमा जित अनिवार्य जस्तै छ । गएरातिको जितले उसलाई केही राहत मिलेको छ । राजस्थान हारका बाबजुद पनि तेस्रो स्थानमा कायमै छ । उसले १० खेलमध्ये ६ मा जित र चार खेलमा हार बेहोरेको छ ।