काठमाडौं ।
आइपिएल २०२२ अन्तर्गत गएराति कोलकाता नाइट राइडर्स (केकेआर) ले लगातार पाँच पराजय तोड्दै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो । मुम्बईको वानखडे स्टेडियममा राजस्थानले पहिले ब्याटिङ गर्दै १५२/५ रन बनायो । जवाफमा राजस्थानले दिएको लक्ष्य केकेआरले १९.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।
यो जितले केकेआरको प्लेअफ सम्भावना पनि जीवितै रहेको छ । लगातार हारपछि शानदार जित निकालेपछि केकेआरका कप्तान श्रेयस अय्यरले खुशी व्यक्त गरेका छन् । ‘उमेश यादव जसरी हार्ड लेन्थ बलिङ गरिरहेका छन्, उनलाई सामना गर्न विपक्षीलाई सजिलो छैन। उनले आफ्नो गति पक्कै बढाएको छने । उनीविरुद्ध नेटमा ब्याटिङ गर्न पनि गाह्रो छ, राजस्थानविरुद्धको जितले म खुसी छु,’ अय्यरले खेल सकिएपछि भने । खेलमा किफायती बलिङ गर्दै उमेशले ४ ओभरमा मेडनसहित २४ रन दिएर एक विकेट लिएका थिए ।
सुनिल नारायणले ४ ओभरमा १९ रन मात्र दिए । तर, उनले विकेट लिन सकेनन् । नारायणको बारेमा अय्यरले भने, ‘उनी टोलीमा उत्कृष्ट थपिएका छन्। जब म उनलाई बल दिन्छु, उनी सधैं मलाई विकेट दिन तयार हुन्छन्। उनी एकै समयमा राम्रो इकोनमीमा बलिङ गर्ने बलर हुन्। यदि उनले विकेट लिन्छन् भने ठूलो विकेट लिन्छन् ।’
अय्यरले पनि रिंकु सिंहको तारिफ गरेका छन् । टोलीको जितको हिरो रहेका उनले २३ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाए । उत्कृष्ट प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच घोषित भए ।
‘मैले ड्रेसिङ रुममा साथी खेलाडीहरूसँग कुरा गरिरहेको थिएँ कि यो खेलाडी आफ्नो दोस्रो वा तेस्रो खेल खेल्दा यति धेरै दबाबको अवस्थामा कसरी शान्त छन्। यो शानदार छ। त्यो बेला पद सम्हाल्न नितिश राणासँग साझेदारी गर्नु राम्रो थियो। हामीले यसका लागि रिंकुको प्रशंसा गर्नुपर्छ र उनी भविष्यमा टोलीको महत्त्वपूर्ण हिस्सा हुनेछन्। पहिलो खेलबाटै उनले जसरी शुरुवात गरे, उनी नयाँ खेलाडी हुन् भन्ने लागेन,’ अय्यरले भने ।