काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ४८ म्याच सकिँदा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । उत्कृष्ट प्रदर्शन गर्नेमध्ये केही युवा खेलाडीले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यू गरिसकेका छैनन् ।
तर, अब भने लगातारको उत्कृष्ट प्रदर्शनले उनीहरूले छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटमा पदापर्ण संकेत देखाइसकेका छन् । यसैबीच आज आईपीएल २०२२ मा सर्वाधिक रन बनाउने चार अनक्याप्ड खेलाडीको चर्चा गर्दैछौं :
१. अभिषेक शर्मा : यो सूचीको शीर्ष स्थानमा सनराइजर्स हैदराबादका युवा ब्याटर अभिषेक शर्माको नाम आउँछ । उनले ९ खेलमा दुई अर्धशतकसहित १३४.४३ को स्ट्राइक रेटमा ३२४ रन बनाएका छन् । ४८ म्याच सकिँदा अभिषेक ओरेन्ज क्याप दौडको तेस्रो स्थानमा पनि छन् । उनले पहिलोपटक एकै सिजनमा ३ सयभन्दा बढी रन बनाएका हुन् ।
२. तिलक वर्मा : मुम्बई इण्डियन्सले नौ म्याच खेल्दा एक खेलमा मात्र जित हात पारे पनि युवा ब्याटर तिलक वर्माले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ९ खेलमा दुई अर्धशतकसहित १३७.०५ को स्ट्राइक रेटमा ३०७ रन बनाएका छन् । तिलकको यो डेब्यू सिजन हो ।
३. राहुल त्रिपाठी : यो सूचीको तेस्रो स्थानमा सनराइजर्स हैदराबादका राहुल त्रिपाठीको नाम आउँछ । उनले ९ खेलमा एक अर्धशतकको मद्दतमा १७२.७२ को स्ट्राइक रेटमा २२८ रन बनाएका छन् । राहुलले पनि हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका छैनन् ।
४. शाहबाज अहमद : आईपीएलको ४८ म्याचको समाप्तिमा सर्वाधिक रन बनाउने अनक्याप्ड खेलाडीको चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) का अलराउन्डर शाहबाज अहमदको नाम आउँछ । उनले १० खेलमा १२५.४७ को स्ट्राइक रेटमा १९७ रन बनाएका छन् ।