Khabar Board

गुजरातमाथि पञ्जाबको फराकिलो जित, रोमाञ्चक बन्यो अंक तालिका

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत गुजरात टाइटन्सविरुद्ध पञ्जाब किंग्स आठ विकेटले विजयी भएको छ । गएराति भएको आफ्नो दशौं खेलमा गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनिङ ब्याटर शिखर धवनले ५३ बलमा आठ चौका एक छक्कासहित अविजित ६२ रन बनाए । त्यस्तै, भानुका राजापाक्षले २८ बलमा पाँच चौका र एक छक्कासहित ४० रनको योगदान दिए ।

लियाम लिभिङस्टोनले १० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा अविजित ३० रनको आक्रामक पारी खेले । जोनी बेयरिस्टो भने एक रनमै पवेलिएन फर्किए । गुजरातका लागि मोहम्मद शामी र लकी फर्ग्युसनले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो । उसका लागि साइ सुदर्शनले अर्धशतकीय पारी खेले । उनले ५० बलमा पाँच चौका र एक छक्कासहित अविजित ६५ रन बनाए ।

त्यस्तै, ऋद्धिमान साहले २१, डेविड मिलर र राहुल तेवटियाले ११/११ रनको योगदान दिए । बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कप्तान हार्दिक पाण्ड्या एक, शुभमन गिल ९, लकी फर्गुसन पाँच, प्रदीप सांगवान दुई र राशिद खान शून्यमै आउट भए ।

अल्जारी जोसेफ भने चार रनमा अविजित रहे । पञ्जाबका लागि कागिसो रबाडाले चार ओभरमा ३३ रन दिएर चार विकेट लिए । रबाडाले अघिल्लो खेलमा लखनउविरुद्ध पनि चार विकेट लिएका थिए । त्यस्तै, ऋषि धवन, लियाम लिभिङस्टोन र अर्शदीप सिंहले एक/एक विकेट हात पारे ।

यो जितसँगै पञ्जाब अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जारी सिजनमा पञ्जाबले १० म्याच खेल्दा पाँचमा जित र पाँच खेलमा भने हारको सामना गरेको छ । पञ्जाबको जितले अंक तालिका रोमाञ्चक बनेको छ ।

अब पञ्जाबसहित बैंग्लोर र हैदराबादको पनि १०/१० अंक भएको छ । यी तिनै टिमले पाँच/पाँचमा जित र त्यति नै खेलमा हार बेहोरेका छन् । हैदराबाद ९ खेलमा यस्तो अवस्थामा रहेको हो ।

पञ्जाब र बैंग्लोरले भने १०/१० म्याच खेलिसकेका छन् । हारका बाबजुद गुजरात अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । उसले १० म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ । उसले प्लेअफको यात्रा लगभग पक्का गरिसकेको छ ।

पञ्जाब र गुजरातको खेलपछि अंक तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.