काठमाडौं ।
टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज जिम्बाब्वे ‘ए’ को सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै सिरिज बराबरी गर्ने प्रयासमा हुनेछ । आइतबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
जिम्बाब्वे भने नेपालविरुद्ध दोस्रो जित निकाल्दै सिरिजमाथि कब्जा जमाउने सोचमा छ । वर्षाका कारण सोमबारको दोस्रो खेल भने रद्द भएको थियो । आज पनि खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । बिहानैदेखि यहाँको मौसम बदली छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो काठमाडौंसहित पहाडी भूभागमा वर्षा हुनसक्ने आँकलन गरिएको छ ।
सिरिजमा जिम्बाब्वेले १–० को अग्रता लिएको छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । टी–२० पछि नेपालले जिम्बाब्वेसँग नै तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

















