Khabar Board
Flash logo up side
flash header

स्टार बलरविरुद्ध लिभिङस्टोनले हिर्काए सिजनकै सर्वाधिक लामो छक्का

Nirbachan m

काठमाडौं ।

क्रिकेटको रोमाञ्चक कुरा यो हो कि कम स्कोर भएको खेल पनि क्षणभरमै यादगारमा परिणत हुन्छ । मंगलबार राति आईपीएलमा पनि यस्तै भयो । टस जितेर पहिले ब्याटिङ गरेको लिगको शीर्ष टोली गुजरात टाइटन्सले २० ओभरमा आठ विकेट गुमाएर १४३ रन बनायो ।

प्लेअफमा पुग्न पञ्जाबका लागि यो खेल महत्वपूर्ण थियो । अन्ततः पञ्जाबको जितमा शिखर धवनले टोलीलाई राम्रो सुरुवात दिलाए । १५ ओभरको अन्त्यमा पञ्जाबको स्कोर २ विकेटको क्षतिमा ११७ रन थियो । टोलीलाई जितका लागि ३० बलमा २७ रन जोड्नु परेको थियो ।

पञ्जाब जितभन्दा धेरै टाढा थिएन। यहाँबाट लियाम लिभिङस्टोनले गरेको विस्फोटक पारीले समर्थक निकै रमाए । लिभिङस्टोनले स्टार बलर मोहम्मद शामीको मिडल स्टम्पमा आएको बललाई यति सुन्दर ढंगले प्रहार गरे कि बल स्टेडियमको तेस्रो तल्लामा पुग्यो ।

लिभिङस्टोनले जारी सिजनमा आक्रामक ब्याटिङ गरिरहेका छन् । उनले सोही लय गुजरातविरुद्ध पनि दोहोर्याए । लिभिङस्टोनले गएराति गुजरातविरुद्ध जारी सिजनकै लामो छक्का पनि हिर्काए । उनले हिर्काएको छक्का ११७ मिटर टाढा गएपछि रंगशालामा खसेको थियो । यद्यपि, आइपिएल इतिहासमा भने १० पटक ११७ मिटर वा सोभन्दा बढी लामो छक्का प्रहार भएको छ ।

जारी सिजनमा ४७ म्याच सकिँदा सर्वाधिक लामो छक्का हिर्काउने रेकर्ड मुम्बई इन्डियन्सका युवा ब्याटर डेवाल्ड ब्रेभिसको नाममा थियो । उनले पञ्जाब किंग्सका बलर राहुल चाहरविरुद्ध ११२ मिटर लामो छक्का प्रहार गरेका थिए । अब ब्रेभिसको रेकर्ड लिभिङस्टोनले तोडेका छन् ।

लिभिङस्टोनले जारी सिजनमै सनराइजर्स हैदराबादका उमरान मलिकको बलमा १०६ मिटर लामो छक्का प्रहार गरेका थिए । उनले गएराति शामीविरुद्ध १६ औं ओभरमा लगातार तीन छक्का हिर्काए । लगातार दुई छक्का लगाएपछि शामीले राउण्ड द विकेटबाट बलिङ गर्ने निर्णय गरे । उनले बाउन्सर बल गर्ने प्रयास गरे । तर, लिभिङस्टोनको पुल शट विकेटकिपरको पछाडि छक्कामा परिणत भयो ।

लगातार तीन बलमा तीन छक्का खाएपछि शामीको स्लो डिलीवरीलाई लिभिङस्टोनले चौकामा परिणत गरे । अर्को बलमा दुई रन लिएपछि शामीको अन्तिम बलमा लिभिङस्टोनले फेरि चौका प्रहार गरे । उनको आक्रामक ब्याटिङमा पञ्जाबले गुजरातलाई आठ विकेटले हरायो ।

गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनिङ ब्याटर शिखर धवनले ५३ बलमा आठ चौका एक छक्कासहित अविजित ६२ रन बनाए । त्यस्तै, भानुका राजापाक्षले २८ बलमा पाँच चौका र एक छक्कासहित ४० रनको योगदान दिए ।

Center article

लियाम लिभिङस्टोनले १० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा अविजित ३० रनको आक्रामक पारी खेले । जोनी बेयरिस्टो भने एक रनमै पवेलिएन फर्किए । गुजरातका लागि मोहम्मद शामी र लकी फर्ग्युसनले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो । उसका लागि साइ सुदर्शनले अर्धशतकीय पारी खेले । उनले ५० बलमा पाँच चौका र एक छक्कासहित अविजित ६५ रन बनाए ।

त्यस्तै, ऋद्धिमान साहले २१, डेविड मिलर र राहुल तेवटियाले ११/११ रनको योगदान दिए । बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कप्तान हार्दिक पाण्ड्या एक, शुभमन गिल ९, लकी फर्गुसन पाँच, प्रदीप सांगवान दुई र राशिद खान शून्यमै आउट भए ।

अल्जारी जोसेफ भने चार रनमा अविजित रहे । पञ्जाबका लागि कागिसो रबाडाले चार ओभरमा ३३ रन दिएर चार विकेट लिए । रबाडाले अघिल्लो खेलमा लखनउविरुद्ध पनि चार विकेट लिएका थिए । त्यस्तै, ऋषि धवन, लियाम लिभिङस्टोन र अर्शदीप सिंहले एक/एक विकेट हात पारे ।

यो जितसँगै पञ्जाब अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जारी सिजनमा पञ्जाबले १० म्याच खेल्दा पाँचमा जित र पाँच खेलमा भने हारको सामना गरेको छ । पञ्जाबको जितले अंक तालिका रोमाञ्चक बनेको छ ।

अब पञ्जाबसहित बैंग्लोर र हैदराबादको पनि १०/१० अंक भएको छ । यी तिनै टिमले पाँच/पाँचमा जित र त्यति नै खेलमा हार बेहोरेका छन् । हैदराबाद ९ खेलमा यस्तो अवस्थामा रहेको हो ।

पञ्जाब र बैंग्लोरले भने १०/१० म्याच खेलिसकेका छन् । हारका बाबजुद गुजरात अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । उसले १० म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ । उसले प्लेअफको यात्रा लगभग पक्का गरिसकेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.