काठमाडौं ।
जिम्बाब्वे ‘ए’ विरुद्धको टी–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालीटिमका ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ३४ बलमा आठ चौकासहित अर्धशतक बनाएका हुन् । यो सँगै आसिफले इतिहास रचेका छन् ।
उनले जिम्बाब्वेविरुद्धको कुनै पनि टिमविरुद्ध नेपालको तर्फबाट सर्वाधिक छिटो अर्धशतक बनाउँदै इतिहास रचेका हुन् । यसअघि कुनै पनि प्रारूपमा जिम्बाब्वेविरुद्ध नेपाली ब्याटरले ३४ बलमा अर्धशतक बनाएका थिए ।
जिम्बाब्वेले दिएको १३७ रनको लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार पार्दासम्म १० ओभरमा एक विकेट गुमाएर ९० रन बनाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । २६ बलको सामना गरेका उनले दुई चौका र दुई छक्कासहित ३४ रन बनाए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रन बनायो । उसका लागि रोय केइयाले सर्वाधिक ४९ रनको योगदान दिए । ४१ बलको सामना गरेका उनले सात चौका प्रहार गरे ।
ल्युक जोग्वेले अविजित २३, टाडिवान्से मरुमनीले २७ र इनोसेन्ट केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई, सोमपाल कामी र बसिर अहमदले एक/एक विकेट हात पारे । नेपाललाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।