काठमाडौं ।
जिम्बाब्वे ‘ए’ विरुद्धको टी–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । जिम्बाब्वेविरुद्ध नेपालको यो कुनै पनि प्रारूपमा पहिलो शानदार जित हो । यसअघि नेपालले जिम्बाब्वेलाई यति फराकिलो अन्तरले हराएको थिएन ।
यो जितसँगै नेपालले सिरिज पनि १–१ को बराबरीमा टुंग्याएको छ । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । श्रृंखलाको तेस्रो खेलमा जिम्बाब्वेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा प्रारम्भिक ब्याटर आसिफ शेखले उत्कृष्ट पारी खेले । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित अविजित ८७ रन बनाए । जिम्बाब्वेविरुद्धको कुनै पनि ढाँचामा आसिफले बनाएको यो उच्च स्कोर हो ।
त्यस्तै, कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाए । बसिर अहमदले १५ बलमा एक चौकाको मद्दतमा १० रन जोडे । जिम्बाब्वेका लागि ल्युक जोंग्वे र ब्रेण्डन मभुताले एक/एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रन बनायो । उसका लागि रोय केइयाले सर्वाधिक ४९ रनको योगदान दिए । ४१ बलको सामना गरेका उनले सात चौका प्रहार गरे ।
ल्युक जोग्वेले अविजित २३, टाडिवान्से मरुमनीले २७ र इनोसेन्ट केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई, सोमपाल कामी र बसिर अहमदले एक/एक विकेट हात पारे ।
नेपाललाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो । नेपाल र जिम्बाब्वेले टी–२० पछि अब तीन खेलकै एकदिवसीय सिरिज खेल्नेछन् । वानडे सिरिज शुक्रबारदेखि सुरु हुनेछ ।
