काठमाडौं ।
स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ तथा समग्रमा ६–५ ले हराउँदै घरेलु टोली रियल लिगको फाइनलमा प्रवेश गरेको हो ।
सान्टियागो बर्नाबेउमा भएको निकै रोमाञ्चक बनेको खेलको ७३ औं मिनेटमा रियाद महारेजले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । फाइनल नजिक पुगिसकेको सिटीले खेलको अन्त्यतिर सम्हालिन नसक्दा अप्रत्यासित हार बेहोर्नुपर्यो । खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।
थप गरिएको समयमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोली २–१ ले अघि बढ्यो । थप गरिएकै समयमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको पहिलो लेग रियलले ४–३ ले गुमाएको थियो । उसले उपाधिका लागि २८ मेमा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुल स्पेनिस क्लब भिल्लारियलाई समग्रमा ५–२ ले हराउँदै फाइनल पुगेको हो ।