Khabar Board

फेयर ब्रेक इन्भिटेसनलमा रुबिना र सीताकाे टिमले पहिलो म्याच खेल्दै

काठमाडौं ।

बुधबारदेखि दुबईमा फेयर ब्रेक इन्भिटेसनल महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा विश्वका चर्चित खेलाडीदेखि भर्खर महिला क्रिकेटमा प्रवेश गरेका देशका खेलाडी सहभागी छन् । प्रतियोगिता लैङ्गिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ आयोजना भएको हो ।

६ टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा ३० देशका खेलाडी सहभागी छन् । अस्ट्रेलिया, न्युजिल्यान्ड र इंग्ल्यान्डजस्ता टेस्ट टिमका खेलाडीसहित भुटान, ब्राजिल र भानुआटुका खेलाडी सहभागी छन् । टेस्ट राष्ट्रका ४० जना र एसोसिएट देशका ५० को हाराहारीमा खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

१५ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन् । पहिलो संस्करणको यो प्रतियोगिता यसअघि हङकङमा हुने बताइएको थियो । तर, कोभिड–१९ का कारण प्रतियोगिता दुवईमा सारिएको हो। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ ।

प्रतियोगितामा बार्मी आर्मी, फाल्कन्स, सप्फिरेस, स्पिरिट, टोर्नाडज र वारियर्स गरी ६ टिम सहभागी छन् । ६ टिमलाई कर्पोरेट हाउसले प्रायोजन गरेका छन् । प्रतियोगितामा नेपालका पनि दुई खेलाडी सहभागी छन् । नेपाली राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरले प्रतियोगितामा आफ्नो प्रतिभा देखाउनेछन् ।

रुविना बार्मी र सीता टोर्नाडजमा आबद्ध छन् । दुवैको टिमले बिहीबार आफ्नो पहिलो खेल खेल्दैछ । सीताआवद्ध टोर्नाडजले आफ्नो पहिलो खेलमा सप्फिरेसको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल अपरान्ह ५ः४५ देखि सुरु हुँदैछ ।

त्यस्तै, रुबिना सम्मिलित बार्मीले आफ्नो पहिलो खेल स्प्रिट ओमन्सविरुद्ध खेल्दैछ । बार्मी र स्प्रिटबीचको खेल राति ९ः४५ देखि सुरु हुने तालिका छ । रुबिना र सीतालाई केही महिनाअघि फेयरब्रेकले सम्झौता गरेको थियो । उनीहरूको पारिश्रमिक ५ हजार हङकङ डलर तथा प्रतिदिन ३ सय हङकङ डलर भत्ता हुनेछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.