काठमाडौं ।
नेपाल र जिम्बाब्वे ‘ए’ ले टी–२० पछि एकदिवसीय सिरिज खेल्दैछन् । यो सिरिजअन्तर्गत दुवै टोलीले पहिलो खेल शुक्रबार खेल्न लागेका हुन् । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने तालिका छ । पछिल्लो केही दिनयता काठमाडौंमा मौसम खराब रहेकाले शुक्रबारको खेल निर्धारित समयमै सुरु नहुन पनि सक्छ ।
टी–२० श्रृंखलामा नेपाल र जिम्बाब्वेले एक/एक खेल जितेका थिए । सो सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेलमा वर्षा बाधक बन्दा तेस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई आठ विकेटले हरायो । पहिलो खेलमा खराब बलिङ गरेको नेपालले तेस्रो म्याचमा भने शानदार कमब्याक गर्यो । यो खेलमा नेपालले जिम्बाब्वेलाई १३६ रनमै रोकेको थियो ।
ब्याटिङ पनि शानदार गरेको नेपालले १३७ रनको लक्ष्य १५.५ ओभरमै पूरा गर्यो । नेपाल सोही लय एकदिवसीय सिरिजमा पनि कायम राख्ने सोचमा छ । हालसम्म नेपालले एकदिवसीयमा जिम्बाब्वेलाई हराएको रेकर्ड छैन । यदि शुक्रबार जित हात पार्नसके जिम्बाब्वेविरुद्ध नेपालले इतिहास रच्नेछ । यद्यपि नेपाल र जिम्बाब्वे ‘ए’ बीचको एकदिवसीय सिरिजलाई आईसीसीले भने लिस्ट ‘ए’ को मान्यता दिएको छैन ।
नेपालका लागि यो सिरिजलाई आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणका लागि अभ्यासको रूपमा हेरिएको छ । नेपालले जुनमा विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा सिरिज खेल्ने तालिका छ । जिम्बाब्वे ‘ए’ सँगको एकदिवसीयको पहिलो खेल जित्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । जिम्बाब्वे पनि उत्कृष्ट कमब्याक गर्दै जित हात पार्न चाहन्छ ।
नेपालले एकदिवसीय सिरिजको पहिलो खेलमा पनि ओपनिङ ब्याटरको जिम्मा आसिफ शेख र कुशल भुर्तेललाई दिन सक्छ । टी–२० श्रृंखलामा राम्रो गरेकाले यो जोडीले वानडेमा पनि निरन्तरता पाउने सम्भावना बढेको हो । तेस्रो नम्बरमा देव खनाल, चौथोमा रोहितकुमार पौडेल, पाँचौंमा दीपेन्द्रसिंह ऐरीले मौका पाउन सक्छन् ।
त्यस्तै, छैटौंमा विकेटकिपर विनोद भण्डारी, सातौंमा आरिफ शेख, आठौंमा करण केसी, नवौंमा सोमपाल कामी, दशौंमा सन्दीप लामिछाने र ११ औंमा सुशन भारीले मौका पाउन सम्भावना छ ।
जिम्बाब्वेविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी (विकेटकीपर), आरिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र सुशन भारी ।