Khabar Board

सीताले लिइन् पहिलो खेलमै महत्वपूर्ण विकेट, गरिन् ‘झुकेगा नहीँ’ सेलिब्रेसन

काठमाडौं ।

यूएईमा जारी फेयर ब्रेक इन्भिटेसनल महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टोर्नाडज ओमन्समा आवद्ध नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता राना मगरले महत्वपूर्ण विकेट लिएका छन् । उनले सप्फिरेसविरुद्ध आफ्नो तेस्रो ओभरको चौथो बलमा महत्वपूर्ण विकेट हात पारिन् ।

सीताले आयरल्याण्डकी ओपनर गेबी लुईसलाई २२ रनमा आउट एल्बीडब्लू धरापमा पारिन् । लुईसले ३४ बलमा २२ रन बनाएकी हुन् । सीताले पहिलाे खेलमा ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण विकेट लिइन् । विकेट लिएपछि उनले हिन्दी फिल्म ‘पुष्पा’का नायकले ‘डायलग’ बोल्दाको हाउभाउजस्तै खुसी मनाइन् ।

त्यसअघि, दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको टोर्नाडजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११९ रन बनायो । उसका लागि स्टेरे कालिसले ३२, कायट्ली मार्टिनले २२, आलिया रियाजले अविजित २०, कप्तान स्टेफनी टेलरले १९ र सोफी डेविनले १० रन बनाए । टोर्नाडजमा आवद्ध नेपाली राष्ट्रिय टिमकी उपकप्तान सीताराना मगरले भने ब्याटिङमा मौका पाइनन् । बलिङमा सप्फिरेसकी शबनिम इस्माइलले सर्वाधिक तीन विकेट लिइन् ।

यो प्रतियोगितामा विश्वका चर्चित खेलाडीदेखि भर्खर महिला क्रिकेटमा प्रवेश गरेका देशका खेलाडी सहभागी छन् । प्रतियोगिता लैङ्गिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ आयोजना भइरहेको हो । ६ टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा ३० देशका खेलाडी सहभागी छन् ।

अस्ट्रेलिया, न्युजिल्यान्ड र इंग्ल्यान्डजस्ता टेस्ट टिमका खेलाडीसहित भुटान, ब्राजिल र भानुआटुका खेलाडी सहभागी छन् । टेस्ट राष्ट्रका ४० जना र एसोसिएट देशका ५० को हाराहारीमा खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

१५ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन् । पहिलो संस्करणको यो प्रतियोगिता यसअघि हङकङमा हुने बताइएको थियो । तर, कोभिड–१९ का कारण प्रतियोगिता दुवईमा सारिएको हो । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ ।

प्रतियोगितामा बार्मी आर्मी, फाल्कन्स, सप्फिरेस, स्पिरिट, टोर्नाडज र वारियर्स गरी ६ टिम सहभागी छन् । ६ टिमलाई कर्पोरेट हाउसले प्रायोजन गरेका छन् । प्रतियोगितामा नेपालबाट सीतासहित कप्तान रुबिना क्षेत्री पनि छिन् । रुबिना सम्मिलित बार्मीले आफ्नो पहिलो खेल आजै स्प्रिट ओमन्सविरुद्ध खेल्दैछ ।

बार्मी र स्प्रिटबीचको खेल राति ९ः४५ देखि सुरु हुने तालिका छ । रुबिना र सीतालाई केही महिनाअघि फेयरब्रेकले सम्झौता गरेको थियो । उनीहरूको पारिश्रमिक ५ हजार हङकङ डलर तथा प्रतिदिन ३ सय हङकङ डलर भत्ता हुनेछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.