Khabar Board
Flash logo up side
flash header

फेयर ब्रेकमा टोर्नाडजको शानदार जित, पहिलो खेलमै सीताको उत्कृष्ट प्रदर्शन

Nirbachan m

काठमाडौं ।

यूएईमा जारी फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा टोर्नाडज ओमन्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा सप्फिरेसलाई १७ रनले हराउँदै नेपाली क्रिकेटर सीता राना मगर सम्मिलित टोर्नाडजले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सप्फिरेसले भने प्रतियोगिातमा हारबाट सुरुवात गरेको छ । टोर्नाडज ले दिएको १२० रनको लक्ष्य पछ्याएको सप्फिरेसले निर्धारित २० ओभरमा ८ वकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो । उसका लागि बाबेट डे लीडेले २४, गेबी लुईसले २२, कप्तान सना मिरले १८ र तास परान्टले ११ रन बनाए ।

बलिङमा टोर्नाडजका लागि विनिफ्रेड दुराईसिंगम, डायना बायगले दुई/दुई, सीता मगर र चनिदा सुथिरुङले एक/एक विकेट लिए । त्यसअघि, दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको टोर्नाडजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११९ रन बनायो ।

उसका लागि स्टेरे कालिसले ३२, कायट्ली मार्टिनले २२, आलिया रियाजले अविजित २०, कप्तान स्टेफनी टेलरले १९ र सोफी डेविनले १० रन बनाए । टोर्नाडजमा आवद्ध नेपाली राष्ट्रिय टिमकी उपकप्तान सीताराना मगरले भने ब्याटिङमा मौका पाइनन् । बलिङमा सप्फिरेसकी शबनिम इस्माइलले सर्वाधिक तीन विकेट लिइन् ।

कस्तो रह्यो सीताको प्रदर्शन?

टोर्नाडजमा आवद्ध नेपाली महिला टिमकी उपकप्तान सीता राना मगरले पहिलो खेलमा राम्रो प्रदर्शन गरिन् । ब्याटिङमा मौका नपाए पनि उनले बलिङमार्फत टिमलाई योगदान दिइन् । सीताले पहिलो खेलमा चार ओभरमा एक महत्वपूर्ण विकेट लिएर १९ रन दिइन् ।

सीताले आयरल्याण्डकी ओपनर गेबी लुईसलाई २२ रनमा आउट एल्बीडब्लू धरापमा पारिन् । लुईसले ३४ बलमा २२ रन बनाएकी हुन् । विकेट लिएपछि उनले हिन्दी फिल्म ‘पुष्पा’का नायकले ‘डायलग’ बोल्दाको हाउभाउजस्तै खुसी मनाइन् ।

Center article

नवौं ओभरमा बलिङको मौका पाएकी सीताले पहिलो ओभरमा बिनाविकेट ५ रन खर्चिइन् । उनले आफ्नो दोस्रो ओभरमा एक चौकासहित ६ रन दिइन् । सीताले तेस्रो ओभरमा एक विकेटसहित ५ रन नै खर्चिइन् । उनले चौथो ओभरमा भने २ रन मात्र दिइन् ।

फेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा विश्वका चर्चित खेलाडीदेखि भर्खर महिला क्रिकेटमा प्रवेश गरेका देशका खेलाडी सहभागी छन् । प्रतियोगिता लैङ्गिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ आयोजना भइरहेको हो । ६ टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा ३० देशका खेलाडी सहभागी छन् ।

अस्ट्रेलिया, न्युजिल्यान्ड र इंग्ल्यान्डजस्ता टेस्ट टिमका खेलाडीसहित भुटान, ब्राजिल र भानुआटुका खेलाडी सहभागी छन् । टेस्ट राष्ट्रका ४० जना र एसोसिएट देशका ५० को हाराहारीमा खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

१५ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन् । पहिलो संस्करणको यो प्रतियोगिता यसअघि हङकङमा हुने बताइएको थियो । तर, कोभिड–१९ का कारण प्रतियोगिता दुवईमा सारिएको हो । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ ।

प्रतियोगितामा बार्मी आर्मी, फाल्कन्स, सप्फिरेस, स्पिरिट, टोर्नाडज र वारियर्स गरी ६ टिम सहभागी छन् । ६ टिमलाई कर्पोरेट हाउसले प्रायोजन गरेका छन् । प्रतियोगितामा नेपालबाट सीतासहित कप्तान रुबिना क्षेत्री पनि छिन् । रुबिना सम्मिलित बार्मीले आफ्नो पहिलो खेल आजै स्प्रिट ओमन्सविरुद्ध खेल्दैछ ।

बार्मी र स्प्रिटबीचको खेल राति ९ः४५ देखि सुरु हुने तालिका छ । रुबिना र सीतालाई केही महिनाअघि फेयरब्रेकले सम्झौता गरेको थियो । उनीहरूको पारिश्रमिक ५ हजार हङकङ डलर तथा प्रतिदिन ३ सय हङकङ डलर भत्ता हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.