काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर एफसीसँगको दोस्रो खेल पनि बराबरी खेलेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । अघिल्लो खेलमा पनि दुवै टिमले गोलरहित बराबरी नै खेलेका थिए ।
क्यामरुनी क्लबविरुद्ध खेलिरहेको नेपाली टिममा मुख्य खेलाडी छैनन् । टिमका सिनियर १० खेलाडी बाहिरिएपछि अहिले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जुनियर खेलाडीलाई टिममा राखेका छन् । बन्द प्रशिक्षणका क्रममा बस्ने बासको उचित व्यवस्था नभएपछि खेलाडी र प्रशिक्षकबीच विवाद भएको थियो ।
त्यसक्रममा बढेको विवादका कारण १० सिनियर खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका हुन् । खेलाडीले प्रशिक्षक अल्मुताइरीले पटकपटक आफूहरूलाई घर जान भनेपछि प्रशिक्षणबाट बाहिरिएको पनि बताएका छन् । आफूहरूले जायज माग राख्दा पनि एन्फा र प्रशिक्षकले आफूहरूमाथि न्याय नगरेको खेलाडीको भनाइ छ ।
यता प्रशिक्षक अल्मुताइरी भने खेलाडीको आरोपप्रति पूर्ण सहमत छैनन् । बरु उनले एन्फालाई क्याम्प छोड्ने खेलाडीलाई कारबाही नगर्न भन्दै पत्रसमेत पठाइसकेका छन् । पत्रमा उनले आफूले असन्तुष्ट खेलाडीलाई माफी दिएको उल्लेख गरेका छन् ।
माफी दिएपनि क्याम्प छोड्ने खेलाडीलाई तत्काल टिममा भने नबोलाउने पनि अल्मुताइरीले बताएका छन् । नेपालले एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत अन्तिम चरण खेल्नुअघि घरेलु मैदानमा अभ्यास गरिरहेको हो । नेपालले यसपालि पनि एसियन कप छानेटमा जोर्डन, इन्डोनेसिया र कुवेतविरुद्ध खेल्नेछ । छनोट प्रतियोगिता जुन ८ देखि १४ सम्म हुनेछ ।