काठमाडौं ।
भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को ५१ औं म्याचमा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई १७८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान ब्रेबोर्नमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनायो ।
उसका लागि इशान किशनले २९ बलमा पाँच चौका र एक छक्कासहित ४५, रोहित शर्माले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाए । त्यस्तै, टिम डेविडले आक्रामक पारी खेले ।
उनले २१ बलमा चार छक्का र दुई चौकासहित अविजित ४४ रन बनाए । तिलक वर्माले २१ र सूर्यकुमार यादवले १३ रनको योगदान दिए । गुजरातका लागि राशिद खानले दुई, अल्जारी जोसेफ, प्रदीप सांगवान र लीक फर्ग्युसनले एक/एक विकेट लिए ।
जारी सिजनमा गुजरातले १० म्याच खेल्दा दुईमा हार र आठ खेलमा जित हात पारेको छ । मुम्बईले भने ९ खेलमा म्याच खेल्दा केवल एक खेल मात्र जितेको छ । सुरुवाती आठ खेल लगातार हार्दा मुम्बई प्लेअफ दौडबाट बाहिरिसकेको छ ।
रोहितले बनाए रेकर्ड
मुम्बईका कप्तान रोहित शमौले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले मुम्बईका लागि २०० छक्का हिर्काउने भारतीय ब्याटर बन्दै नयाँ उपलब्धि हासिल गरेका हुन् । रोहितले हालसम्म मुम्बईका लागि २०१ छक्का हिर्काएका छन् ।
मुम्बईका लागि सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान चाहिँ किरण पोलार्डको नाममा छ । उनले अहिलेसम्म २५७ छक्का हिर्काएका छन् । यो सूचीको तेस्रो स्थानमा हार्दिक पाण्ड्याको नाम आउँछ । उनले मुम्बईमा रहँदा ९८ छक्का हिर्काएका थिए ।