काठमाडौं ।
जिब्बाब्वे ‘ए’ सँगको वानडे सिरिजअन्तर्गत नेपालले दोस्रो खेल आज खेल्दैछ । दोस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल उत्कृष्ट कमब्याक गर्न चाहन्छ ।
शुक्रबार भएको पहिलो खेलमा बलिङमा राम्रो गरेको नेपालले ब्याटिङमा भने निकै खराब प्रदर्शन गर्यो । उत्कृष्ट सुरुवातका बाबजुद ब्याटिङमा नेपाल १३६ रनमै समेटिएको थियो । सिरिजमा जीवितै रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । जिम्बाब्वे भने आज जित हात पार्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ ।
शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरममा ७ विकेट गुमाएर पूरा गर्यो । आजको खेलमा नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । दोस्रो म्याचमा नेपालले आरिफ शेख र सागर ढकाललाई विश्राम दिएर देव खनाल र विनोद भण्डारीलाई प्लेइङ–११ मा समावेश गर्न सक्छ ।

सागरको स्थानमा टी–२० मा राम्रो प्रदर्शन गरेका स्पिनर बसिर अहमदलाई मौका दिनुपर्ने धेरै समथर्कको माग पनि छ । तर, एकदिवसीयका लागि क्यानले यसअघि घोषणा गरेको टिममा बसिरलाई राखिएको थिएन । जसकारण उनले दोस्रो वानडे खेल्ने पाउने सम्भावना कम छ ।
नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, विनोद भण्डारी, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सुशन भारी ।
