काठमाडौं ।
एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली जिब्बाब्वे ‘ए’ ले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको जिम्बाब्वेले ३१.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।
उसका लागि जोनाथन क्याम्पबेलले २७, ब्राड इभन्सले अविजित २० र केफास जुवाओले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । जिम्बाब्वेलाई सस्तैमा समेट्नमा करण केसी र सोमपाल कामीले घातक बलिङ गरे ।
करणले ८ ओभरमा ३ मेडनसहित १७ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । उनले पहिलो बलमै विकेट लिँदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । त्यस्तै, सोमपालले ७ ओभरमा १६ रन दिएर ३ विकेट हात पारे ।

दोस्रो खेलमा जिम्बाब्वेको इनिङ्सलाई ध्वस्त गर्न करण र सोमपालको जोडी गज्जबले चम्कियो । त्यस्तै, कप्तान सन्दीप लामिछानेले दुई र सागर ढकालले एक विकेट हात पारे ।
दोस्रो खेलमा नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्यो । नेपालले सुशन भारी र आदिल अन्सारीलाई विश्राम दिँदै सुनिल धमला र विनोद भण्डारीलाई मौका दिएको हो । शुक्रबार भएको पहिलो खेलमा बलिङमा राम्रो गरेको नेपालले ब्याटिङमा भने निकै खराब प्रदर्शन ग¥यो ।
उत्कृष्ट सुरुवातका बाबजुद ब्याटिङमा नेपाल १३६ रनमै समेटियो । सिरिजमा जीवितै रहन नेपालले दोस्रो खेल जित्नैपर्ने हुन्छ । नेपाल र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
