एसियन कप छनोटमा जोर्डनविरुद्ध खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक अल्मुताइरी

Image

काठमाडौं ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टोलीका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोट खेल्न कुवेत पुगेको नेपालले जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा उनले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीलाई धरै दबाब छैन । हाम्रो समूहमा हामी पोर्ट ४ को राष्ट्र हौँ यसैले कुनै दबाब छैन । तर, एक टोलीको रूपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाल का लागि महत्वपूर्ण छ । भोलीको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ अल्मुताइरीले भने, ‘हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरू कस्तो खेल्छन् भोलि के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौं । हामीले जोर्डनलाई रोक्न सक्यौं भने त्यसपछि कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं ।’

उनले नेपालले पनि समूहको कठिन टोली बन्न चाहेको बताए । ‘हामी २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ जना नयाँ खेलाडी छन् । उनीको औसत उमेर २१ वर्ष छ’, अल्मुताइरीले भने,‘समूहमा जोर्डन निर्णायक टोली हो । हामी उनीहरूसँग राम्रो नजिताका लागि प्रतिस्पर्धा गर्नेछौं । हामी पनि छनोटमा कठिन टोली बन्न चाहन्छौं । जोर्डनको प्रतियोगितामा छनोट हुने सम्भावना धेरै छ । र दोस्रो स्थानमा कुवेत र इन्डोनेसियाको सम्भावना छ ।’

छनोटमा नेपालले जेठ २५ गते जोर्डन, २८ गते घरेलु टोली कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ । नेपालले हालसम्म जोर्डनसँग चार खेल खेलको छ । जसमा नेपालले तीन हार एक बराबरीको नतिजा निकालेको छ । नेपाल–जोर्डनले सन् २०११ मा पहिलोपटक एकअर्काको सामना गरेका थिए ।

विश्वकप छनोटअन्तर्गतको उक्त भेटमा नेपालविरुद्ध जोर्डनले ९–० को फराकिलो जित हात पारेको थियो । सोही वर्ष विश्वकप छनोटअन्तर्गत नै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ र २०२१ मा भएको भेटमा समान ३–० को हार बेहोरेको थियो ।

इतिहास हेर्दा नेपालले जोर्डनसँग १६ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ । यदि बुधबार राति जोर्डनविरुद्ध २ गोल गर्न सके नेपालले इतिहास रच्नेछ । हालसम्म एकै खेलमा नेपालले जोर्डविरुद्ध २ गोल गर्न सकेको छैन ।

यो पनि : नेपाल र बलियो टोली जोर्डनबीच खेलको लाईभ हेर्न सकिने, यस्तो छ हेर्ने तरिका