काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा भोलि (शनिबार) नेपालले नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । जारी सिरिजमा नेपालले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध ४० रनले हार बेहोर्यो ।
स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको थियो । नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । निकै खराब ब्याटिङ गरेको नेपाल भोली सनिवार त्यो गल्ती दोहोर्याउन चाहान्न ।
यस्तै दोस्रो खेलमा भने नेपालले घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराउँदै लय फर्किएको संकेत देखाएको छ । स्कटल्याण्डविरुद्धको ऐतिहासिक जितमा ओपनिङ ब्याटर आसिफ शेखले ७१ रनको उत्कृष्ट पारी खेले । उनकै शानदार पारीमा नेपालले जित हात पार्यो । लयमा देखिएका आसिफले तेस्रो खेलमा पनि महत्वूर्ण इनिङ्स खेल्नेमा समर्थक आशावादी छन् ।
तेस्रो खेलमा पनि नेपालले प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना कमै छ । अघिल्लो खेलमा स्कटल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकाले नेपालले नामिबियाविरुद्ध पनि सोही सेटलाई निरन्तरता दिने सम्भावना रहेको हो ।
स्कटल्याण्डविरुद्ध बलिङमा सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा मोहम्मद आदिल आलम, सोमपाल कामीले तीन/तीन, सन्दीप लामिछानेले दुई, करण केसी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । नामिबियाविरुद्ध पनि नेपाल यही लय दोहोर्याउने लक्ष्यमा हुनेछ ।
नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा छ । स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालले अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।
नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।