काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज शनिबार तेस्रो खेल खेल्दैछ ।नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।
नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।
नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
नामिबियाको सम्भावित प्लेइङ–११ : लो–हान्ड्रे लौरेन्स, दिवान लकक, क्रेग विलियम्स, गेर्हार्ड इरास्मस (कप्तान), जन निकोल लोफ्टी-इटन, जेजे स्मित, जन फ्राइलिंक, डेविड भिसे, रुबेन ट्रम्पलम्यान, बर्नान्ड स्कोलाट्ज र बेन शिकोन्गो ।