माल्दिभ्ससँग भिड्नुअघि यस्तो भन्छन् नेपालका प्रशिक्षक केसी

Image

काठमाडौं ।

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा भोलिदेखि सुरु हुने साफ यू–२० च्याम्पियनसिपमा सहभागी सबै टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षकहरूले अक्टोबरमा हुने एएफसी यू–२० च्याम्पियनसिप छनोटअघि साफ यू-२० च्याम्पियनसिप आयोजना गर्न पहल गरेकोमा साफलाई धन्यवाद दिए।

सबैले साफ प्रतियोगिताले आफूलाई एएफसी प्रतियोगिताको लागि सहज हुने विश्वास व्यक्त गरे। उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै छ भने श्रीलंकाले बंगलादेशसँग खेलेर अभियानको सुरुवात गर्नेछ। भारतको पहिलो खेल २७ जुलाईमा श्रीलंकासँग हुनेछ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार दिउँस ३:३० मा सुरू हुनेछ। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले करिब दुई महिनादेखि टोलीलाई प्रशिक्षण दिइरहेका छन्। उनी आफ्नो टोलीले राम्रो नतिजा निकाल्न सक्ने ठान्छन्।

‘हामी यहाँ जित्नका लागि छौं, तर हामी सबै सहभागी टोलीलाई सम्मान गर्छौं,’ उनले भने, ‘माल्दिभ्ससँगको पहिलो खेल कठिन हुनेछ तर थोरै प्रयासमा जित निकाल्न सकिन्छ।’ माल्दिभ्सका अधिकांश खेलाडीहरू शीर्ष डिभिजन लिगमा व्यस्त थिए, र व्यस्त तालिकाका कारण उनीहरूले टोलीको रूपमा प्रशिक्षणमा आफ्नो धेरै समय बिताउन सकेनन्।

माल्दिभ्सका प्रशिक्षक अहमद शैकर भारतीय टिम बलियो भएको बताए। उनले भने, ‘म व्यक्तिगत रूपमा भारतलाई राम्रो टिम ठान्छु किनभने उनीहरू करिब २-३ वर्षदेखि सँगै छन्। हामीसँग राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा छनोट भएका तीन खेलाडी छन्। म प्रतियोगिताको लागि धेरै उत्सुक छु।’

बंगलादेशका मुख्य प्रशिक्षक पल स्माली थोमसले आफ्नो टोलीले प्रतियोगिताका लागि राम्रो तयारी गरेको र हाल देशको शीर्ष डिभिजन लिगमा खेलिरहेका खेलाडीको मिश्रणले बंगलादेशले सहभागी सबै टोलीलाई कडा टक्कर दिन सक्ने बताए। यस वर्षको फेब्रुअरीमा भएको साफ यू–१८ महिला च्याम्पियनसिपको फाइनलमा भारतसँग बंगलादेशले भोगेको हारको बदला लिन खोजेको पनि उनले बताए।

आर्थिक संकटका कारण सबैको ध्यान श्रीलंकाली टोलीको तयारीमा केन्द्रित भए पनि श्रीलंकाका प्रशिक्षक राजमण्य देवसागायमले प्रतियोगिताका लागि आफ्नो टोली उत्कृष्ट लयमा रहेको र तयारीमा अलिकति पनि प्रभाव नपरेको बताए।

‘देशमा के भइरहेको छ त्यससँग कुनै सरोकार छैन। छोटो समयमै हामीले प्रतियोगिताको लागि राम्रो तयारी गरेका छौं र हामीले राम्रो नतिजा ल्याउन सक्छौं,’ उनले थपे। भारतका प्रशिक्षक शान्मुगम वेंकटेशले प्रत्येक खेललाई फाइनल खेलका रूपमा लिने र सबै टोलीलाई समान रूपमा व्यवहार गर्ने बताए।

साफ यू–२० च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो। एएफसीले एएफसी यू-२० च्याम्पियनसिप आयोजना गर्ने भएपछि साफले पनि साफ यू-२० च्याम्पियनसिप आयोजन गर्न लागेको हो।

यसअघि यू–१९ र यू–१८ उमेर समूहमा हुँदै आएको प्रतियोगिता यस पटक यू–२० उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो । प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

नेपाली टोली : (गोलकिपर) ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख। (डिफेन्ड) अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । (मिडफिल्डर) दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान (कप्तान) । (फरवार्ड) रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी ।