पूर्वकप्तान पारस ‘लेजेण्ड्स लिग क्रिकेट’ मा अनुबन्ध भएपछि यस्तो भन्छन् सन्दीप

Image

काठमाडौं ।

नेपालका पूर्वकप्तान पारस खड्काले संन्यास लिएका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सहभागी हुने टी-२० क्रिकेट प्रतियोगिता ‘लिजेन्ड्स लिग क्रिकेट’ खेल्ने भएका छन्। प्रतियोगिताको दोस्रो सिजनमा पारस पनि सहभागी हुने आयोजकले आइतबार सार्वजनिक गरेको हो।

उनले खेल्ने टिमको नाम भने केही दिनभित्र सार्वजनिक गरिनेछ । लिग आगामी सेप्टेम्बरमा हुनेछ । दोस्रो संस्करणमा चारवटा फ्रेञ्चाइज टिमले खेल्ने छन् । प्रतियोगिताको पहिलो सिजन गत जनावरीमा ओमानमा भएको थियो।

त्यतिबेला तीन टिम सहभागी भएका थिए। ओमानमा नै आगामी सेप्टेम्बरमा हुने दोस्रो संस्करणमा लागि आयोजकले चार वटा नयाँ फ्रेञ्चाइज टिम घोषणा गर्ने जनाएको छ। लिगमा पारससहित ५० जना लिजेन्ड खेलाडी सहभागी हुने आयोजकको भनाइ छ।

हाल नेपालको बलिङ प्रशिक्षक रहेका धम्मीका प्रसाद पनि लिगमा सहभागी हुनेछन्। यस्तै चामिन्दा भास, थिसारा परेरा, प्रज्ञान ओझा, पार्थिव पटेल, मिचेल जोनसन, हरभजन सिंह लगायतका खेलाडी पनि सहभागी हुनेछन्। गत वर्षको साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारसले तीन वर्षअघि नेपालको कप्तानबाट राजीनामा दिएका थिए।

२२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तानमा पर्छन्। उनको नेतृत्वमा नेपालले डिभिजन-५ देखि एकदिवसीय टिम र टी-२० टिमको मान्यता पायो। १० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए।

पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि उनी पहिलोपटक मैदान उत्रनेछन् ।

लेजेण्ड्स लिग क्रिकेटमा पारस अनुबन्ध भएसँगै नेपाली टिमका कप्तान सन्दीप लामिछानेले उनलाई बधाई तथा शुभकामना दिएका छन् । साथै, उनले फेरि एकपटक दिग्गज खेलाडीहरूलाई मैदानमा देख्न निकै उत्सुक रहेको पनि उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्‘ यो अचम्मको खबर हो । सबै दिग्गजहरूलाई फेरि मैदानमा फर्केर हेर्नको लागि तत्पर छौं । हाम्रो आफ्नै पारस खड्का दाईलाई शुभकामना, हार्दिक शुभकामना,’ ।