काठमाडौं ।
डेनमार्कमा ‘युथ लेभल फुटबल’ खेल्दै आएका सुगम सुवालले यू–२० साफ च्याम्पियनसिपमा राम्रो संकेत देखाएका छन् । भारतमा भइरहेको प्रतियोगिताको पहिलो खेलमै उनले गोल गर्दै राम्रो संकेत देखाएका हुन् । सुगमले पहिलो खेलमा माल्दिभ्सविरुद्ध गोल गर्न सफल भए । उनले खेलको ५५ मिनेटमा गोल गरेका हुन् ।
सुगमले पेनाल्टी बक्सबाट दोस्रो बारमा गोल गर्न सफल भए । सामाजिक सञ्जालमार्फत राष्ट्रिय यू–२० टोलीको छनोटबारे जानकारी पाएपछि उनी केही समयअघि नेपाल आएका थिए । उनी ४ वर्षअघि डेनमार्क पुगेका थिए । उनी डेनमार्कको तेस्रो डिभिजन क्लब भिएसके आर्हुसको एकेडेमीमा अनुबन्धित छन् ।
डेनमार्कमै राम्रो प्रशिक्षण र अवसर भए पनि उनी राष्ट्रिय टोलीबाट खेल्ने आफ्नो सपना साकार पार्न नेपाल फर्किएका हुन् । माल्दिभ्सविरुद्ध चौथो गोल इन्जुरी समयमा मनग्य नकर्मीले गरे । उनी ८३ औं मिनेटमा क्रितिशको ठाँउमा मैदानमा प्रवेश गरेका थिए । तेस्रो गोल पेनाल्टीमा कृतिशरत्न छुन्जुले गरे । उनले ६२ औं मिनेटमा गोल गरेका हुन् । नेपालका लागि पहिलो गोल ४१ औं मिनेटमा दिपेश गुरुङले गर्न सफल भए ।
दोस्रो खेलमा श्रीलंका सामना गर्दै नेपाल, यस्तो छ दुवै टोलीबीचको इतिहास
साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकाको सामना गर्दैछ । भारत–श्रीलंकाबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।
साफ यू–२० मा नेपाल र श्रीलंकाले पहिलोपटक एकअर्काको सामना गर्दैछन् । पहिलो खेलमा माल्दिभ्समाथि ४–० को शानदार जित हात पारेको नेपाल श्रीलंकाविरुद्ध पनि त्यसलाई निरन्तरता दिने सोचमा छ । पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित श्रीलंका नेपाललाई हराउँदै पहिलो जित निकाल्ने प्रयासमा हुनेछ ।
श्रीलंकाविरुद्ध नेपालको सम्भावित सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), मनग्य नकर्मी, अमर श्रेष्ठ, कृतिषरत्नु सञ्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दीप कार्की ।