काठमाडौं ।
नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ ।
खेलपछि बोल्दै टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलले लगातार दोस्रो जितबाट टोलीको आत्मविश्वास बढेको बनाएका छन्। ‘हामी धेरै खुसी छौं । आज दोस्रो जित दर्ता गरेका छौं । खेलाडीमा आत्मविश्वास पनि बढेको छ । श्रीलंकाले पनि निकै राम्रो खेलेको हो । पहिलो हाफमा गोल गर्ने निकै नै गारो बनाएको थियो। श्रीलङ्काले दोस्रो हाफमा आफ्नो गति गुमायो र हाम्रो प्लेयरले आफ्नो गति समात्यौं र गोल गरे।”
नेपाल गोल नखाने एकमात्र टोली हो । प्रतियोगितामा उत्कृष्ट डिफेन्स गर्दै आएको नेपालका लागि गोलरक्षक इश्वर गुरुङले पनि केही राम्रो बचाउ गरेका छन् । प्रशिक्षक साहुखल टोलीले आक्रामक फुटबल खेलेपनि डिफेन्सलाई टाइट राखेको बताउँछन् ।
नेपाल अंक तालिकाको शीर्षस्थानमा रहेपनि अहिले नै फाइनलबारे सोच्न नहुने प्रशिक्षक साहुखलले बताए । ‘नेपालले अझै दुई खेल खेल्न बाँकी छ । हामीले अझै जित हासिल गर्न बाँकी छ । अहिले नै फाइनल पुगेको भन्नु हुँदैन । हामी प्रत्यक खेललाई हेरेर अघि बढ्छौं । अब भारतविरुद्ध खेलमा ध्यान दिनेछौं । हामीसँग तीन दिन विश्राम हुन्छ र खेलाडीलाई आराम पनि राम्रो पुग्छ,’ उनले थपे ।
टोलीमा मुख्य प्रशिक्षकको भूमिकामा मेघराज केसी रहेका छन् । गोलरक्षक प्रशिक्षकको जिम्मेवारीमा उज्ज्वल मानन्धर तथा सहायक प्रशिक्षकमा साहुखल छन् । घरेलु फुटबलमा लगातार काम गरिरहेका साहुखल पहिलो पटक उमेर समूहको राष्ट्रिय टोलीमा एक हुन् । केसी र मानन्धरले भने सिनियर राष्ट्रिय टोलीबाट पनि काम गरिसकेका छन् ।
यस्तै नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले लगातार जितले खेलाडीमा हौसला मिलेको बताए । ‘हामी राम्रो तयारी गरेर भारत आएका छौं । हरेक खेलमा राम्रो गर्दै उपाधि जित्न चाहन्छौं,’ केसीले भताए ।
नेपाललाई जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिए ।
पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।
खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।