काठमाडौं ।
साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको छ। जहाँ नेपालले पनि खेलिरहेको छ। नेपालको प्रदर्शन शानदार रहेको छ। नेपालले दुई खेल खेलेको छ। दुवै खेलमा नेपाल विजयी भएको छ।
नेपालले आफ्नो तेस्रो खेल भारतसँग आइतबार खेल्दैछ। तर, भारतसँग खेल्नुअघि नेपाललाई झड्का लागेको छ। शुक्रबार भएको पहिलो खेलमा भारत र दोस्रो खेलमा बंगलादेश विजयी भएका छन् । जुन नेपालका लागि ठुलो झड्का नै हो। यदि दुवै टिम पराजित भएको भए नेपाललाई फाइनल पुग्न धेरै सहज हुने थियो । तर पनि नेपालको फाइन पुग्ने सम्भावना भने रहेको नै छ।
यस्तै, सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरेका थिए ।
माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो । कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।
यस्तै, बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो । नेपाललाई जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।
कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिए । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।
अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे । खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।
यस्तै, भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार तेस्रो जित निकालेको छ। बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे। मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो। माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए। यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ।
बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा भारतलाई २–१ गोल अन्तरले हराएको थियो। माल्दिभ्सको यो दोस्रो हार हो। नेपालले दोस्रो स्थानमा झरेको छ। यसअघि नेपाल शीर्षस्थानमा रहेको थियो।
यसअघि शुक्रबारको पहिलो म्याचमा श्रीलंकालाई ४–० गोल अन्तरले हराउँदै भारतले पहिलो जित निकाल्यो। साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे। हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एकएक गोल थपे। भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ५०औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गर्दा भारत २–० ले अघि रह्यो। ७४ औं मिनेटमा गुर्किरातले गोल गर्दै टोलीको अग्रता ३–० को बनाए। त्यसपछि खेलको इन्जुरी समयमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४–० को जित दिलाएका हुन्।
यस जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो। श्रीलंकाको यो लगातार तेस्रो हार हो। श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
भारतको फाइनल खेल्ने सम्भावना जीवित छ। भारतले अब आइतबार नेपालसँग खेल्नेछ। नेपालले भने यसअघि लगातार दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।
प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा भिड्ने प्रावधानअनुसार नेपालले आइतबार भारतलाई हराए फाइनलमा स्थान बनाउनेछ। भारतका लागि भने फाइनलमा स्थान बनाउन नेपाललाई हराउनुपर्ने बाध्यता हुनेछ।
तेस्रो खेलमा एकआपसमा भिडेपछि अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछन्। प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।
अंक तालिका :