नेपाल र भारतबीचको खेल आज, यस्तो छ दुवै टोलीबीचको विगत

Image

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन । ‘भारतसॅंगको खेल हाम्रो लागि साख र प्रतिष्ठाको खेलको रुपमा समर्थकहरुले लिनु हुन्छ। तर हामी भने सकेको राम्रो खेल देखाउने हो र लक्ष्य जित नै रहनेछ। हाम्रो प्रदर्शन राम्रो हुनुपर्यो राम्रो नतिजा आउनु पर्यो,’ मुख्य प्रशिक्षक मेघराज केसी भन्छन् ।

प्रशिक्षक केसीले भारतविरुद्धको खेलका लागि कुनै विशेष तयारी भने नगरेको बताउँछन् । ‘सबै टिमलाई हामीले समान मानेका थियौ त्यही अनुसार नै हामी भारतविरुद्ध खेल्ने छौ भारतका लागि हाम्रो विशेष तयारी भनेर केही छैन सबै टिमविरुद्ध उही नै हो,’ मुख्य प्रशिक्षक केसीले भने, ‘ उमेर समूहको लागि दक्षिण एसियाका सबै टिम बराबर नै छौ। केही तल माथी मात्र नै छ जस्तो लाग्छ। खास फरक छैन।’

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

भारतविरुद्ध नेपालको सम्भावित सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), मनग्य नकर्मी, अमर श्रेष्ठ, कृतिशरत्न छन्जु, दीपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दीप कार्की ।

साफ यू–२० को इतिहास

साफ यू–२० नाममा पहिलोपटक आयोजना हुन लागेको भएपनि यस प्रतियोगिताको सुरुवात सन् २०१५ मा भएको थियो । २०१५ मा साफ यू–१९ को नामबाट सुरुवात भएको यस प्रतियोगिता चौथो संकरणसम्म आइपुग्दा साफ यू–२० मा रूपान्तरण भएको हो । २०१७ र २०१९ मा यसलाई साफ यू–१८ को नामबाट आयोजना गरिएको थियो । हालसम्म यसको तीन संस्करण समापन भइसक्दा नेपालले दुई तथा भारतले एक उपाधि हात पारेका छन् ।

सन् २०१५ मा साफ यू–१९ को नाममा घरेलु भूमिमै आयोजना भएको यो प्रतियोगिताको पहिलो संकरणको उपाधि नेपालले जित्यो । उसले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि हात पारेको हो । समूह चरणमा भुटानलाई ३–१ र बंगलादेशलाई २–१ ले हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तालाई ३–२ ले पराजित गरेको थियो ।

सन् २०१८ मा यो प्रतियोगिता साफ यू–१८ को नामले भुटानमा आयोजना गरियो । यो पटक पनि विजेता बन्दै नेपालले उपाधि रक्षा गर्न सफल भयो । सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्दा भुटानसँग १–० को हार बेहोरेको थियो । बंगलादेशसँग समान ९ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थनमा रहँदै विजेता बनेको हो ।

सन् २०१९ मा पनि यो प्रतियोगिता साफ यू–१८ कै नामले आयोजना गरियो । नेपालमै आयोजना भएको यो संस्करणको उपाधि भारतले उचाल्यो । भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि उचालेको हो । अघिल्लो दुई संस्करणको विजेता नेपालले भने घरेलु भूमिमै समूह चरण पार गर्न सकेन । समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहोर्‍यो ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो । बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।

हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ ।भारतले दुई खेल खेलेको छ। जस्म एकमा जित र एक खेलमा हार बेहोरेको छ । भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ। माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छन् । माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो। भने दोस्रो खेलमा शुक्रबार बंलादेश विरुद्ध ४–१ ले पराजित भएको थियो।श्रीलंका भने अंक विहिन बन्दै फाइनल प्रवेशबाट बाहिरिएको छ।