नेपाल विरुद्ध भारतको अग्रता

Image

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु भएको खेलमा भारतले सुरुवाती अग्रता लिएको छ। भारतले खेलको ३१ औं मिनेटमा गोल गरेका छ।

नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० गोल र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो। दुई खेलमा सात गोल गरेको नेपालले अहिलेसम्म गोल खाएको छैन। प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको नेपाली टिमका लागि कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले दुईदुई गोल गरेका छन्। कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले एकएक गोल गरेका छन्।

प्रतियोगितामा अब नेपालले बंगलादेश र भारतसँग खेल्न बाँकी छ। दुवै खेल नेपालका लागि वास्तविक परीक्षा हुन्। किनभने भारतलाई प्रतियोगिताको बलियो दाबेदार मानिएको छ। लामो समयदेखि सँगै रहेर अभ्यास गरेको भारतीय टिमलाई घरेलु मैदानको समेत फाइदा हुनेछ।

बंगलादेशले पनि प्रतियोगिताका सुरूवाती तीन खेलमा जित निकालेको छ। पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले दोस्रो खेलमा घरेलु टिम भारतमाथि सनसनीपूर्ण जित निकालेको थियो। बंगलादेशले तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो।

भारतले आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ४-० को जित निकालेको थियो। समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने व्यवस्थाअनुसार भारतको फाइनल यात्रामा आजको खेल महत्वपूर्ण छ। खेल नेपालका लागि महत्वपूर्ण सावित हुने पक्का छ। किनभने सुरुवाती दुई खेलमा लयमा देखिएको नेपालले बलियो भारतविरूद्ध देखाउने खेलले नेपालको स्तर निर्धारण गर्नेछ भने जितले फाइनल यात्रा समेत पक्का गर्नेछ।

आइतबार नेपालविरूद्ध अंक गुमाएको अवस्थामा भारत फाइनल पुग्नबाट बञ्चित हुने अवस्था आउन सक्नछ। त्यसैले भारतले नेपालविरूद्ध सम्पूर्ण शक्ति खर्चनेछ। जितका लागि भारत दबाबमा भएको फाइदा उठाउन सके नेपाली टिम अन्तिम खेलअघि फाइनल पुग्न सक्नेछ।

भारतका प्रशिक्षक शान्मुगम वेंकटेशले बंगलादेशसँग हारको दोष आफ्नो भएको बताएका थिए। उनले अबका खेलदेखि गल्ति सुधार गरेर अघि बढ्ने समेत बताएका थिए। त्यसैले प्रशिक्षक शान्मुगम बाँकी रहेका खेलमा अंक गुमाउन चाहदैनन्। भारतसँग आइतबार खेलेपछि नेपालले आफ्नो अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ। भारतसँग खेल्ने नेपालको सुरुवाती–११ घोषणा भएको छ।

नेपालको सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), अजय चौधरी, अमर श्रेष्ठ, कृतिशरत्न छन्जु, दीपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र  मनग्य नकर्मी ।